निजामती सेवा दिवस : नारा जस्तै कार्यशैली र आचरणको आवश्यकता

काठमाडौं । आज भदौ २२ निजामती सेवा दिवस मनाइँदै छ । देशमा सार्वजनिक सेवा प्रवाह, शान्ति सुरक्षा, विकास निर्माण, राज्य सञ्चालन र व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्ने स्थायी सरकारका रूपमा रहेका निजामती कर्मचारीहरूले प्रत्येक वर्ष भदौ २२ मा निजामती सेवा दिवस मनाउँदै आएका छन् ।

निजामती सेवा दिवस विसं २०६१ भदौ २२ देखि मनाउँन शुरू भएको हो । सो दिवसको यस वर्षको नारा दुई वर्षअघि नै तय भएको ‘व्यावसायिक र सिर्जनशील प्रशासन विकास समृद्धि र सुशासन’ रहेको छ ।

विगतमा प्रत्येक वर्ष नयाँ नारा तय हुँदै आएकोमा अझै ३ वर्ष यही नै नारा रहने छ । सरकारले पाँच वर्षसम्म यही नाराअनुसार नै काम गर्ने निर्णय गरेको थियो ।

सेवा प्रवाह, सुशासन र विकासका विभिन्न नाराहरू लिएर मनाउँदै आइएको यो दिवसको नारा अनुसारको कर्मचारीको व्यवाहार नहुने गरेको जनगुनासो रहेको छ ।आम जनतामा जनताका सेवकको रुपमा विश्वासको वातावरण बनाउँने गरी काम गर्नु आजको आवश्यकता हुन आएको छ ।

यो दिवसलाई सार्थक बनाउँन स्थायी दिवसमा दिने गरेको सुशासन, विकास र सदाचारिताको नारा जस्तै कर्मचारीको कार्यशैली र आचरणको आवश्यकता रहेको छ ।

हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्। दिवसको अवसर पारेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विभिन्न कार्यक्रमको आयोजना गर्दैछ।

दिवसका अवसरमा बिहान प्रभातफेरी हुँदैछ भने यही अवसरमा निजामती कर्मचारीलाई सम्मान तथा पुरस्कार प्रदान गरिँदै छ।

कमेन्ट गर्नुहोस्