लगानीको वातावारण बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विकासका लागि लगानीको वातावरण बनाउँदै सरकारी, निजी क्षेत्र, स्वदेशी र विदेशी स्रोत परिचालन गरेर १६औं योजना कार्यान्वयन गरिने बताएका छन् ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित लगानी बोर्ड १२ औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले देशमा लगानीको वातावरण बनाउन सरकार प्रतिबद्ध रहेकाे बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्डले भने-‘नेपाल सरकारले सन् १९९० मा उदार बजार अर्थतन्त्र अपनाएपछिनिजी क्षेत्रसँग साझेदारी गर्दै आएको छ । व्यवसाय गर्न र लगानीको वातावरण सुदृढ गर्न नीतिगत, कानुनी, नियामक, प्रक्रियागत र संस्थागत व्यवस्थामा निरन्तर सुधार गर्न सरकार प्रतिबद्ध छ ।’

संविधानको मर्मअनुसार लगानीमैत्री वातावरण बनाउन सबै तहका सरकारबीच समन्वय र सहकार्य अपरिहार्य रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सुदृढीकरणका लागि विभिन्न उपकरण र संयन्त्रहरू विकास गर्दै आएको बताए ।

नेपाल लगानीको आकर्षक गन्तव्य र लगानीको अनुकूल वातावरण रहेको देश भएको बताउँदै जलविद्युत, पर्यटन, कृषि, आईसीटी लगानीका क्षेत्र भएको प्रधानमन्त्रीले बताएका छन् । उनले सबै लगानीकर्ता र सरोकारवालाहरूलाई लगानी बोर्ड नेपाल र अन्य सम्बन्धित सरकारी संयन्त्रले नेपालमा लगानीको वातावरण बनाउन सहयोग पुर्याउने बताए ।

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आयोजित लगानी बोर्ड १२ औं वार्षिक उत्सवमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री प्रकाश शरण महत, उर्जा मन्त्री शक्ति वस्नेत, लगानी बोर्डका सिइयो सुशिल भट्ट, विभिन्न देशका राजदूतहरु, विकास साझेदारहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्