प्रदीप गिरिलाई सम्झदै प्रधानमन्त्रीले भने-‘उहाँबाट सिक्नुपर्ने धेरै कुरा बाँकी छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रदीप गिरिको अभाव खड्केको बताएका छन् । सिरहाको बस्तिपुरमा आयोजित सभालाई सम्बोधन गर्दै उनले प्रदीप गिरिको अभाव खड्केको बताउँदै उनीबाट सिक्नुपर्ने धेरै कुरा बाँकी रहेको बताएका हुन् ।

प्रचण्डले भने, “गिरिको दार्शनीतिक चिन्तन, राजनीतिक विश्लेषण अरुभन्दा फरक थियो । प्रदीप गिरिको अभाव हामीलाई खड्केको छ । हामीले सिक्नुपर्ने धेरै कुरा बाँकी छ,”

दिवंगत कांग्रेसका नेता प्रदीप गिरिको तुलना अरुसँग गर्न कठिन हुने प्रधानमन्त्री प्रचण्डले बताए ।

“उहाँको तुलना अरुसँग गर्न धेरै कठिन छ । उहाँको दार्शनिक चिन्तन, समाजवादी चिन्तन, राजनीतिक विश्लेषण र त्यसलाई हेर्ने उनको नजरिया अर्कै थियो,” उनले भने ।

प्रचण्डले गिरिसँग शान्ति प्रक्रियामा आउनुअघि नै अनौपचारिक कुरा भएको सुनाए । आफूलाई कांग्रेसका सभापति शेरबहादुर देउवाकोमा पुर्‍याउने व्यक्ति पनि गिरि नै रहेको उनले बताए ।

“शान्ति प्रक्रियामा आएपछि सबैभन्दा पहिले मलाई शेरबहादुर देउवाजी कहाँ लगेर राजनीतिक परिस्थिति, संविधानसभालगायत यावत धेरै कुरामा अहिले भनिसाध्य छैन,” प्रचण्डले भने, “मलाई पहिला त्यहाँ पु¥याउने र अवस्थाका बारेमा विश्लेषण गर्ने व्यक्तित्व हुनुहुन्थ्यो ।”

उनले आफूलाई भरोसा, माया गरेर नियमित घरमा आउने र खाना खाएर छलफल गर्ने गरेको समेत स्मरण गरे।

कमेन्ट गर्नुहोस्