माओवादी पार्टीलाई जनताको पार्टीको रूपमा स्थापित गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

गोरखा। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रूपमा स्थापित गर्ने बताएका छन्। सहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट लीग नेपाल अजिरकोट गाउँपालिका दोस्रो सम्मेलनलाई सम्बोधन गर्दै आज सो कुरा बताएका हुन् ।

प्रधानमन्त्रीले भने, ‘अहिले हामी पार्टी पुनर्निर्माण गर्ने अभियानमा छौँ । अभियान देशभर उत्साहपूर्ण ढङ्गले अगाडि बढेको छ । यो अभियानमा संलग्न पार्टीका नेता कार्यकर्तालाई शुभकामना दिन चाहन्छु । ठुलो त्याग तपस्याबाट प्राप्त परिवर्तन र उपलब्धिलाई रक्षा गर्न प्रहरी यो अभियान सफल पार्न जरुरी छ ।’

जनताको पार्टीको रूपमा स्थापित गर्दै जनताको पार्टीको काम गर्ने एक मात्र पार्टीको माओवादी हो भन्ने रूपमा स्थापित गर्न सफल हुने विश्वास व्यक्त गरे । आफूले लिएको सरकारको नेतृत्वको अवसरलाई उनले चुनौतीपूर्ण अवसरको रूपमा लिएको बताउनुभयो । सरकारले सामाजिक सुरक्षा कोषको अभियान, पासपोर्ट र यातायातमा देखिएका लाइन हटाउने अभियान र भ्रष्टाचार विरोधी अभियान चलाएर नयाँ परिवर्तन सुरुवात गरिएको उनले बताए।

भ्रष्टाचार विरोधी अभियानले जनतामा उत्साह जागेको भए पनि भ्रष्टाचारमा रमाउनेहरू अत्तालिएको उनले बताए । सुशासन र समृद्धिलाई प्राथमिकता दिएर सरकार अगाडि बढेको बताउनुहुँदै प्रधानमन्त्री प्रचण्डले भने, “बुढीगण्डकी जलविद्युत आयोजनाको काम सुरुवात गरिएको छ, कर्णाली चिसापानीजस्तो गेम चेन्जर आयोजना सुरुवात गरिएको छ ।” छिट्टै चीन भ्रमण जान लागेको बताउँदै नेपालको विकास र देशको उत्तरीक्षेत्रका नाका खोल्नेलगायतका एजेन्डा रहने बताए ।

कमेन्ट गर्नुहोस्