जी-२० सम्मेलनको घोषणपत्र जारी

एजेन्सी । भारतको नयाँ दिल्लीमा शनिबारबाट सुरु भएको जी-२० शिखर सम्मेलनको लिर्डस घोषणापत्र जारी भएको छ ।

युक्रेन युद्ध र जलवायु परिवर्तन सम्बन्धि मत भिन्नतालाई थप नखोतल्ने गरी घोषणापत्र जारी गरिएको छ । घोषणा पत्रप्रति युक्रेनले भने निराशा व्यक्त गरेको छ ।

युरोपेली मुलुक र अमेरिकाले जी-२० घोषणापत्रमा रुसको निन्दा गर्नुपर्ने लबिङ गरेका थिए । तर रुस, चीनलगायतका मुलुकहरु त्यसमा सहमत नहुने अवस्था आएपछि जी-२० अध्यक्ष राष्ट्र भारतकै सक्रियतामा मध्यमार्गी बाटो अपनाउँदै घोषणापत्र जारी गरिएको हो ।

घोषणापत्रमा युक्रेनले भोग्नु परेको पीडाप्रति सहानुभूति दर्शाउने तर, रुसको आलोचना नगर्ने नीति अख्तियार गरिएको छ । भारतीय विदेशमन्त्री एस जयशंकरको प्रयासमा सहमति जुटेको बताइएको छ । घोषणापत्रलाई रुसले सन्तुलित भनेको छ भने युक्रेनी विदेश मन्त्रालयका प्रवक्ता ओलेग निकोलेन्कोले घोषणापत्रमा कडा शब्दहरू समावेश नगरिएको भन्दै निराशा ब्यक्त गरेका छन् ।

घोषणापत्रमा कडा शब्दहरु राख्नुपर्ने अडानमा रहेका देशहरुप्रति आभार व्यक्त गर्दै युक्रेनले युक्रेनमाथि रुसी हमलाका लागि कुनै पनि जी-२० राष्ट्रहरुले गर्व गर्नुपर्ने विषय नरहेको बताएको छ ।

जी-२० मा विश्वका शक्तिशाली अर्थतन्त्र भएका देशहरुको समूह हो । नयाँदिल्ली सम्मेलनबाट अफ्रिकन युनियनलेसमेत यसको स्थायी सदस्यता पाएको छ । यसअघि जी-२० मा १९ देश र एक युरोपेली युनियन सदस्य थिए । अप्रिmकन युनियनसमेत थपिएपछि अब जी-२० मा १९ देश र दुई युनियन सदस्य बनेका छन् ।

जी-२० मा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, क्यानडा, चीन, फ्रान्स, जर्मनी, भारत, इन्डोनेसिया, इटली, जापान, दक्षिण कोरिया, मेक्सिको, रुस, साउदी अरब, दक्षिण अफ्रिका, टर्की, बेलायत र अमेरिका सदस्य छन् ।

यद्यपि सम्मेलनमा ३० भन्दा धेरै राष्ट्राध्यक्ष, शीर्ष नेताहरु र १४ अन्तर्राष्ट्रिय संगठनका प्रमुखहरू समेत सहभागी भए । उनीहरू आजबाट स्वदेश फर्किने छन् ।

कमेन्ट गर्नुहोस्