काठमाडौं । वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं रकम ठगी गर्ने तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सर्बियामा चक्लेट प्याकिङको काममा मासिक तलव एक लाख ५० हजार रुपियाँभन्दा धेरै हुने भनी पीडितबाट १७ लाख रुपियाँ रकम लिई सम्पर्कविहीन रहेका ४० वर्षीय राजकुमार लामिछाने पक्राउ परेका छन् ।
स्थायी घर धादिङ रही हाल भक्तपुर बस्ने लामिछाने बलराम थापा समेत गरी तीनजनालाई प्रतिव्यक्ति आठ लाख रुपियाँ लाग्ने भन्दै पटक पटक गरी सो रकम लिर्इ सम्पर्कविहीन भएका थिए ।
यस्तै, टर्की पठाउने भनी दुई लाख ५० हजार रुपियाँ लिइ सम्पर्कविहीन २३ वर्र्षीय चित्र बहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ ।
स्थायी घर कैलाली रही हाल मित्रनगर नयाँ बसपार्क बस्ने मगरले टर्कीको होटलमा काम गर्न पाँच लाख रुपियाँ लाग्ने र मासिक तलब एक लाखभन्दा धेरै हुन्छ भनी निशान खड्कालाई प्रलोभनमा पारेका थिए ।
यसैगरी, प्रहरीले फ्रान्स पठाउने भनी १४ लाख रुपियाँ लिइ सम्पर्कविहीन बनेका ४९ वर्षीय वीर बहादुर गुरुङलाई पक्राउ गरेको छ ।
स्थायी घर स्याङ्जा भई हाल काठमाडौंको सुकेधारा बस्ने गुरुङले राजभक्त रानाभाटलाई फ्रान्सको एक होटलमा मासिक तलव एक लाख रुपियाँभन्दा बढी हुने र त्यसका लागि १७ लाख रुपियाँ लाग्ने झुटो आश्वासन दिएका थिए ।
प्रहरीका अनुसार तीनै जनालाई थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ ।