अखिल क्रान्तिकारी एकताबद्ध

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू(क्रान्तिकारी) एकढिक्का भएर अघि बढ्ने भएको छ । विद्यार्थी फ्राक्सनको इन्चार्जमा पूर्व अध्यक्ष समेत रहेका युवा नेता हिमाल शर्मा आएपछि उनको सक्रियतामा विद्यार्थीको विवाद समाधान उन्मुख भएको हो ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सहभागितामा आज भएको छलफलले सम्मेलन आयोजक समिति बनाउने सैद्धान्तिक सहमति गरेर लामो समयदेखि चल्दै आएको विवाद अन्त्य गरेको हो ।

सैद्धान्तिक सहमति भएसँगै अब २३औं राष्ट्रिय सम्मेलन आयोजक समिति बनाउने सहमति र त्यसलाई कार्यान्वयन गरेर जाने सहमति जुटेको छ ।

आजको छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष पम्फा भुसाल, उपमहासचिव वर्षमान पुन लगायत अखिल क्रान्तिकारीका नेताहरू सहभागी थिए ।

छलफलको तस्बिर सार्वजनिक गर्दै फ्राक्सन इन्चार्ज हिमाल शर्माले सबैको सकारात्मक प्रयासले आजबाट अखिल (क्रान्तिकारी) एकताबद्ध भएको भन्दै खुसी व्यक्त गरेका छन् ।

कमेन्ट गर्नुहोस्