काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले मुलुकमा देखापरेका हरेक समस्याको निकासका लागि समाजवादी मोर्चा आवश्यक भएको बताएका छन् ।
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उनले सो कुरा बताएका हुन् ।
उनले अहिले मुलुक पेचिलो अवस्थामा पुगेका कारण मोर्चा जरूरी भएको बताए ।
‘जब मुलुक समस्यामा पर्छ, माओवादीहरू एक हुन्छन्, कम्युनिस्टहरू एक हुन्छन्’, उनले भने, ‘समाजवादीहरू एक हुन्छन्। अहिले मुलुकको निकासका लागि हो।’
महासचिव विप्लवले समाजवादी मोर्चा गठन भएपछि केही मान्छेहरूमा त्रास र आतंक बढेको बताए ।
‘समाजवादी मोर्चाका विषयमा विभिन्न अफवहा फैलिरहेका छन्। केही ठाउँमा त्रास र केही ठाउँमा आतंक जस्तो पनि देखिएको छ। हाम्रो बारेमा विभिन्न प्रतिक्रियावादीहरू लाग्छन र आतंक हुन थाल्छन् भने हामी ठिकै ठाउँमा छौं भनेर बुझ्नुपर्छ,’ चन्दले भने।
उनले समाजवादी मोर्चा निर्माणका क्रममा सामूहिकतालाई बुझेर अघि बढेको उनले बताए। जातीय द्वन्द्ध फैलाउने काम भइरहेको भन्दै त्यसबाट सचेत हुनुपर्ने उनको भनाइ थियो।
‘हाम्रो देश जटिल संक्रमणकालमा उभिएको छ। नेपालमा शान्ति र समृद्धि चाहिएको छ। केही परिवर्तन पनि भएका छन्,’ उनले भने, ‘तर देशको स्थिति पेचिलो बन्दै गइरहेको छ। यसको सामना कसले गर्ने ? हामीले गर्ने हो।’