काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले श्रम आप्रवासन सम्बन्धी समस्या र समाधानका विषयमा केन्द्रित रहेर विदेशस्थित नेपाली कुटनीतिक नियोगका प्रमुखहरूसँग अन्तरक्रिया र छलफल गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले सोमवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा उनीहरुसँग छलफल गरेका छन्। बैठकमा वैदेशिक रोजगारसहित आप्रवासी नीतिहरुमा रहेको अहिलेको चुनौतिका बारेमा १३ देशका नेपाली राजदुतहरुसँग छलफल गरिएको हो । अन्तरक्रियामा कुटनीतिज्ञहरूले अन्तर्राष्ट्रिय श्रम बजारसँग सम्बन्धित समस्या समाधानबारे धारणा राखेका थिए ।
पहिलो चरणको बैठक समापनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रम, रोगजार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले राजदुतहरुले आफ्नो आफ्नो मुलुकको समस्या र समाधानका उपायहरू बताए। उनले श्रम मन्त्रालयले राजदुतहरुले राखेका समस्या टिपेर राखेको र त्यसलाई समाधान गर्नेतर्फ र व्यवस्थित बनाउनेतर्फ आगामी दिनमा काम गर्ने बताए ।
मन्त्री भण्डारीले निर्देशिका, कार्यविधि परिवर्तन गरेर भएपनि वैदेशिक रोजगारलाई व्यवस्थित र रोजगारमा गएका श्रमीकको हक हीत मानव अधिकार लगायतका सम्पूर्ण कुरा व्यवस्थित बनाउने सरकारको लक्ष्य रहेको बताए । उनले वैदेशिक रोजगारीमा रहेका श्रमीकहरुमाथि सरकारको जिम्मेवारी छ र गएका श्रमीकलाई नेपालमै फर्काउने गरी वातावरण बनाउने अनुभुति गरेर सरकारले देखाउने गरी काम गर्ने प्रतिवद्धता जनाए ।
अन्तरक्रियामा मागपत्र प्रमाणीकरण, जाँचबुझमा रहेका समस्या, वैदेशिक रोजगारीमा हुने ठगी, कार्यस्थलमा श्रमिकले भोगेका समस्या, मानव तस्करीको समस्या, विदेशमा रहेका कागजातबिहीन नेपाली श्रमिकका समस्या, फ्रि भिषा फ्रि टिकटको अवस्था र समस्या, ई–भिसा, सिजनेवल भिसाका समस्या, नेपाली कुटनीतिक नियोगको प्रभावकारिता लगायत श्रम आप्रवासनलाई सुरक्षित, मर्यादित र विश्वासनीय बनाउने विविध विषयमा छलफल भएको बताइएको छ । सोमवार र मंगलवार गरी २ दिन सञ्चालन हुने अन्तरक्रियामा मंगलवार प्रधानमन्त्रीले सम्बोधन गर्नेछन् ।