स्वर्गीय नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालय राखिने

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ ।

आफ्नै निवासमा १ बजे राति अचानक हृदयघात भएपछि उनलाई महाराजगञ्जस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुग्नासाथ उनलाई मृत घोषित गरिएको थियो ।

उपाध्यक्ष नेम्वाङको निधन लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगाएत राजनैतिक दलका नेताहरु शिक्षण अस्पताल पुगेका छन् । नेम्वाङको शव श्रद्धाञ्जलीका लागि बुधबार सम्म पार्टी कार्यालयमा राखिने बताइएको छ ।

इलाम क्षेत्र नं २ बाट निर्वाचित नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका नेम्वाङ इलाम २ बाट २०५६ सालदेखि संसदीय चुनावमा निरन्तर विजयी हुँदै आएका थिए । २०४८ सालदेखि २०५२ सालसम्म उनी राष्ट्रिय सभाका सांसद बनेका थिए ।

२०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख बने। पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख भएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् ।

कमेन्ट गर्नुहोस्