आज कुशे औँसी : बुबाको मुख हेर्ने तथा पितृसम्मान दिवस

काठमाडौं। आज कुशे औँसी अर्थात् बुबाको मुख हेर्ने दिन सनातन हिन्दू परम्परामा भाद्र महिनाको अमावस्या (औंसी) का दिन मनाइने पर्व हो । कुशे औँसीमा पिताजीको मुख हेर्ने, अर्थात् बुवा दिवसको रूपमा मनाई बुवालाई विशेष सम्मान गर्ने र आमाबाबु नहुनेले तीर्थमा खासगरी गोकर्ण र विष्णुपादुकामा श्राद्ध, तर्पण, दान, पुण्य गरी पितृ तार्ने र आफू पुण्यात्मा बन्ने विश्वास गरिन्छ । कुशको विशेष प्रकारको औँठी जसलाई पवित्र भनिन्छ त्यो धारण नगरी कुनै पनि धर्म कार्य गरिँदैन । कुश घरमा राख्नु मात्र पनि पवित्र मानिने हुँदा पुरोहितहरू यजमानका घरघरै यही कुशे औँसीमा पुर्‍याउँदछन् र यजमानहरूले पनि सिधा दक्षिणा आदि द्वारा पुरोहितलाई सम्मान गर्दछन् ।

कुशे औँसीका दिन हिन्दू धर्मावलम्वीहरू वर्षभर देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा भित्र्याउँछन् । शास्त्रोक्त विधिअनुसार ब्राहृमणहरूद्वारा पूजा गरी छेदन गरेर जजमानहरूकहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । हिन्दूहरू कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान विष्णुको प्रतीक मान्छन् ।

आज महोत्तरीको अन्धाअन्धी स्थानमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । लोहारपट्टी नगरपालिका–१ बगडा गाउँस्थित अन्धाअन्धी पौराणिक एवं धार्मिक महत्व बोकेको ठाउँ हो । त्यहाँ महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका विभिन्न ठाउँबाट समेत यहाँ सर्वसाधारण आउने गर्दछन् ।

पितृसम्मान दिवस

आज छोराछोरीले परम्पराअनुसार आ–आफ्ना बुबालाई मन पर्ने मिठाई तथा भोजन खुवाई आदर सम्मान प्रकट गर्ने र बाबुको मुख हेर्ने गर्दछन्। बुबा नहुने विभिन्न पवित्र स्थानमा गई आफ्ना बुबाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने गर्दछन् ।

आजको दिन विशेषगरी उत्तरगया भनेर चिनिने काठमाडौँको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा विशेष मेला लाग्छ।यसैले आजको औँसीलाई गोकर्णे औँसीका नामले पनि चिनिन्छ ।

कमेन्ट गर्नुहोस्