जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए प्रधानमन्त्री प्रचण्ड

जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए प्रधानमन्त्री प्रचण्ड

सेप्टेम्बर १७ न्युयोर्क, अमेरिका । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आइतबार अमेरिका आइपुगेका छन् ।

आइतबार बिहान जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थल न्यूयोर्कमा ओर्लिएका प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डललाई संयुक्त राष्ट्रसंघको लागि नेपालका स्थाई प्रतिनिधि लोक बहादुर थापा लगायतले स्वागत गरेका छन् ।

शनिबार साँझा ६ः१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अमेरिका प्रस्थान गरेका प्रधानमन्त्री ‘प्रचण्ड’ले आगामी असोज ४ गते राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नेछन् ।

परराष्ट्र मन्त्रालयले दिएको कार्यसूची अनुसार महासभाको आमबहसमा ‘विश्वासको पुनर्निर्माण र विश्वव्यापी एकताको पुनर्निर्माणः २०३० एजेन्डा र यसको दिगो लक्ष्यमा सबैका लागि शान्ति, समृद्धि, प्रगतिका लागि द्रुत कार्य’ शीर्षकमा प्रधानमन्त्री प्रचण्डकाे सम्बोधन रहेकाे छ ।

महासभाको उद्घाटन सत्रमा भाग लिनुका साथै असोज २ गते संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्ने स्वागत समारोहमा प्रचण्ड सहभागी हुनेछन् ।

उनले राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसम्बन्धी शिखर सम्मेलन र जलवायु महत्वाकाङ्क्षा शिखर सम्मेलनमा पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री प्रचण्डले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेससँग भेटवार्ता गरी आपसी हित र शान्ति सेनामा नेपालको प्रगतिको समीक्षा गर्नेछन्। त्यस्तै विभिन्न देशका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै आपसी साझेदारीका लागि पहल गर्नुहुने छ।

राष्ट्रसङ्घ जाने नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीका साथमा उनका छोरी गङ्गा दाहाल, परराष्ट्र सचिव भरतराज पौड्याल तथा परराष्ट्र मन्त्रालयका अन्य उच्चाधिकारी सहभागी रहेका छन्। परराष्ट्रमन्त्री साउद केही दिनअघि नै अमेरिका पुगिसकेका छन् ।

कमेन्ट गर्नुहोस्