सभामुख घिमिरे आयरल्यान्ड प्रस्थान

काठमाडौं । आयरल्यान्डको साताव्यापी औपचारिक भ्रमणका लागि सभामुख देवराज घिमिरे डब्लिनतर्फ प्रस्थान गरेका छन्।

आयरल्यान्डको संसद् ओरेचटासको तल्लो सदन डैल आयरेनका सभामुख सिन ओ फियरघेलको निमन्त्रणामा तीनसदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सभामुख घिमिरे आइतबार साँझ आयरल्यान्ड उडेका हुन्।

प्रतिनिधिमण्डलमा सभामुख घिमिरे, प्रतिनिधिसभा सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई छन्। आयरल्यान्डका लागि नेपालीको गैरआवासीय राजदूतावास लण्डनका द्वितीय सचिव रामबाबु नेपाल डब्लिनमा प्रतिनिधिमण्डलसँग सामेल हुनेछन्।

भ्रमणका क्रममा सभामुख घिमिरेले सभामुख सिन ओ फियरघेल र माथिल्लो सदन सिनाड आयरेनका अध्यक्ष जेरी बटिमरसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ। साथै, आयरल्यान्ड सरकारका विभिन्न पदाधिकारीहरू तथा आयरल्यान्डमा बसोबास गर्ने नेपाली डायस्पोरासँग पनि भेटघाट गर्नेछन्।

औपचारिक भ्रमण सम्पन्न गरी सभामुख घिमिरे ७ असोजमा स्वदेश फर्किनेछन्।

कमेन्ट गर्नुहोस्