एमसीसीलाई मुलुकको हितमा अघि बढाइएको हाे : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले मुलुक अत्यन्तै जटिल भूराजनीतिमा रहेकाले एमसीसीलाई मुलुकको हितका आधारमा अघि बढाइएको बताएका छन् ।

सोमबार पार्टी कार्यालय आलोकनगरमा नेपाल नेवाः राष्ट्रिय संघ (समाजवादी)ले आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

अध्यक्ष नेपालले व्याख्यात्मक घोषणाको रुपमा एमसीसी पास नगरेको भए नेपालको हात तल पर्ने, नेपालको स्वाभिमानले नतमस्तक हुनुपर्ने स्थिति आउने दाबी गरे । उनले व्याख्यात्मक घोषणापछि मात्रै पास गर्नाले विदेशीको गुलाम बन्नु नपरेको बताए । उनले एमसीसीको घोर विरोध गरेको कारण वाहवाही पाउने भए मजदुर किसान पार्टी र मोहनविक्रम सिंहको पार्टीले सय सिट कटाउने बताए ।

उनले अहिले गठबन्धनलाई कमजोर पार्न र गठबन्धनबाट समाजवादीलाई बाहिर निकाल्ने षड्यन्त्र भइरहेको पनि बताए । तर कस्ले कसरी षडयन्त्र गरेको छ त्यो भने खोलेनन् ।

उनले गठबन्धन बनाउन आफ्नो पार्टीले नै नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै गठबन्धनभित्र भएका कमीकमजोरीलाई सुधार गर्दै एकतावद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले अहिलेको गठबन्धन समाजवादका लागि बाधक नभएकाले गठबन्धन र सरकारबाट बाहिर निस्किए पार्टी समाप्त हुन सक्ने जिकिर गरे ।

अध्यक्ष नेपालले समाज रुपान्तरणको क्रममा बाधा हुनेहरुलाई पन्छाउँदै अघि बढ्नुपर्ने कुरामा जोड दिए ।

कमेन्ट गर्नुहोस्