काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रमै रहने सकारात्मक सोचका साथ हातेमालो गर्नु आजको आवश्यकता रहेको बताएका छन् ।राष्ट्रिय शिक्षा दिवसको अवसरमा प्रधानमन्त्री प्रचण्डले शुभकामना दिदै सो कुरा बताएका हुन् ।
प्रधानमन्त्रीद्धारा जारी शुभकामनामा भनिएको छ -‘नेपाल सरकार विद्यालयदेखि उच्च तहसम्मको शिक्षालाई प्रतिस्पर्धी, व्यावसायिक, सीपमूलक, रोजगारमूलक, सूचना र प्रविधिमा आधारित बनाई अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउनेतर्फ प्रयत्नशीलु छ । उच्च शिक्षा अध्ययनका लागि युवाहरू स्वदेशमै रहुन् भन्ने हाम्रो इच्छा छ र राष्ट्रको आवश्यकता पनि यही हो । युवा विद्यार्थी र अभिभावकहरूलाई स्वदेशमै गुणस्तरीय शिक्षा तथा रोजगारीको सुनिश्चितताप्रति विश्वास जगाउनु त्यतिकै आवश्यक छ । साथै, राष्ट्रमै रहने सकारात्मक सोचका साथ हातेमालो गर्नु आजको आवश्यकता भएको छ ।’
शिक्षा सम्बन्धी मौलिक हकलाई कार्यान्वयनमा लैजाने क्रममा अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ जारी भएको दिनलाई आधार मानेर हरेक वर्ष असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारले निर्णय गरेको छ ।
यसवर्ष “समावेशी र सिपमूलक शिक्षाः स्वदेशमै युवा राष्ट्रको इच्छा भन्ने आदर्श वाक्यका साथ राष्ट्रिय शिक्षा दिवस, २०८० देशभर मनाइदै छ ।सो अवसरमा दिदै अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबिच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि आवश्यक रहेको प्रधानमन्त्रीले बताएका छन् ।
शुभकामना दिदै प्रधानमन्त्रीले भनेका छन् -‘अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा र निःशुल्क माध्यमिक शिक्षाको लक्ष्य हासिल गर्न तीनै तहका सरकारबिच आपसी समन्वय, सहकार्य र सहअस्तित्वमा आधारित भएर लगानीमा साझेदारी अभिवृद्धि गर्नु अपरिहार्य छ। यसका साथै सन् २०३० सम्ममा दिगो विकासका विश्वव्यापी लक्ष्यहरू हासिल गर्न विद्यालय शिक्षा र प्राविधक शिक्षादेखि उच्च शिक्षासम्मका सिकाइहरूलाई समावेशी र गुणस्तरीय बनाउन सर्वे शिक्षण संस्थाहरूले समान बुझाइका साथ निरन्तर प्रयासमा जोड दिनुपर्ने आवश्यकता देखेको छु । खास गरी समाजमा पिछडिएको वर्ग, क्षेत्र, लिङ्ग र जातजातिलाई शिक्षाको मूलधारमा समाहित गरी गुणस्तरीय र समावेशी शिक्षाको पहुँच सुनिश्चित गर्नु पनि अपरिहार्य छ ।’
यस्तो छ प्रधानमन्त्रीद्धारा व्यक्त शुभकामना
