काठमाडौं । संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता थालेको छ ।यसअघि बार्तामा बस्न तयार नै नभएका शिक्षकहरू बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरूसँग उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अग्रसरतमा छलफलका लागि तयार भएसँगै छलफलको सुरुवात भएको हो ।
वार्तामा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव, शिक्षक महासंघको प्रतिनिधिमण्डल सहभागी थिए ।
छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ता, संवाद गरेर निष्कर्ष निकाल्नु पर्ने बताए ।
वार्ता निष्कर्षविहीन सकिए पनि छलफलबाटै निष्कर्ष निकाल्नुपर्ने सैद्धान्तिक सहमति बनेको छ । साथै, प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन विशेष जोड दिए ।
सद्मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसम्बन्धी माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।