काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भोलि चीन जाँदैछन्।संयुक्त राष्ट्रसंघको महासभालाई आज सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड भोलि न्युयोर्कबाटै चीन जाने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।प्रधानमन्त्री प्रचण्ड न्युयोर्कको स्थानीय समय अनुसार राति १ बजे चीन प्रस्थान गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन्।
हाङझावमा प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सि चिनफिङसँग भेट्नेछन्। त्यहाँ २३ सेप्टेम्बरमा हुने १९ औं एसियन खेलकुदको उद्घाटन सत्रमा प्रधानमन्त्री प्रचण्ड र चिनफिङबीच भेटवार्ता हुने छ।
प्रधानमन्त्री प्रचण्डले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष झाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्नेछन्।बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको छ।
उनले नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको पनि भ्रमण गरी ३० सेप्टेम्बरमा स्वदेश फर्कनेछन्।