१९औँ हाङझाउ एसियाड आजदेखि : ४५ राष्ट्रका १२ हजार पाँच सय खेलाडी एकै मञ्चमा

काठमाडौं । शनिबारदेखि हाङझाउमा एसियाड सुरु हुँदै छ यसको लागि चीनले पाँच वर्षको मिहिनेत गरेको छ । तेस्रोपटकको एसियाड आयोजना गर्न कोभिड महामारीका कारण चीनले अनुमानित बजेटभन्दा बढी खर्च गरेको छ ।

चीनले तेस्रोपटक एसियन खेलकुद प्रतियोगिता (एसियाड) आयोजना गर्न धेरै प्रतीक्षा र कठिन परिस्थितिसँग मुकाविला गरेको छ । सन् २०१८ मा जाकार्ताबाट १९औँ एसियाडको आयोजनाको झन्डा बोकेर आउँदा चीनले सहजै प्रतियोगिता गर्ने अपेक्षा राखेको थियो । जाकार्तामै हाङझाउ सहरमा हुने एसियाड अहिलेसम्मकै भव्य हुने दाबी गरेको थियो । आधुनिक सहरका रूपमा विकास गरेको हाङझाउमा थप नयाँ विश्वस्तरीय रंगशाला, बुलेट ट्रेन र गगनचुम्बी भवनको विकाससँगै चीनले सहभागी ४५ राष्ट्रका खेलाडी, प्रशिक्षक, अफिसियल र उच्चस्तरीय सरकारी पदाधिकारीलाई दंग बनाउने योजना बनाएको थियो ।

Hangzhou Asian Games open
Hangzhou Asian Games

यसैबीच वुहानबाट सुरु भएको प्राणघातक कोभिड–१९ ले चीनको सुरुवाती योजना बिगार्ने काम गर्‍यो । कोेभिड महामारीकै कारणले हाङझाउमा जुन कल्पना चीनले गरेको थियो, त्यो शतप्रतिशत पूरा गर्न नसकेको स्थानीय समाचार एजेन्सीहरूले उल्लेख गरेका छन् । कोभिड–१९ का कारण अन्य विकसित एसियन राष्ट्रहरूले १९औँ संस्करणको आयोजना दाबीसमेत नगरेको होइन । चीनले जसरी पनि एसियाड हाङझाउमै गर्ने तत्परता देखाइरह्यो । यसका लागि कोभिड–१९ लाई निर्मूल पार्ने प्रयास भयो ।

गत वर्ष यसै समयमा १९औँ एसियाड भइसक्नुपर्ने थियो । आयोजक चीनले कोभिड महामारीबाट आफू आश्वस्त नभएका कारण प्रतियोगितालाई एक वर्षपछि सार्‍यो । ओलम्पिक काउन्सिल अफ एसिया (ओसिए(ले हाङझाउलाई एक वर्षको थप समय दियो । चीनको यही लगातार पाँच वर्षको मिहिनेतपछि शनिबारदेखि हाङझाउमा एसियाड सुरु हुँदै छ । यद्यपि, चीनले तेस्रोपटकको एसियाड आयोजना गर्न अनुमानित बजेटभन्दा बढी खर्च गर्नुपरेको छ । शनिबार मुख्य रंगशालामा ४५ राष्ट्रका खेलाडी, अफिसियल र पदाधिकारीले चीनको तयारी नजिकबाट अवलोकन र अनुभव गर्ने अवसर पाउनेछन् ।

चीनले पाहुनालाई मख्ख बनाउन कुनै कसर बाँकी राख्नेछैन । यसपटक करिब १२ हजारभन्दा बढी खेलाडीले भाग लिने अनुमान ओसिएले गरेको छ । रमाइलो पक्ष के छ भने अर्को वर्ष फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेलकुदमा भन्दा बढी खेलाडी हाङझाउमा हुनेछन् । १८औँ संस्करणमा ११ हजार तीन सय खेलाडीले भाग लिएका थिए । सन् २०२० मा जापानको टोकियोमा भएको ओलम्पिकमा दुई सय ६ राष्ट्रबाट समग्रमा ११ हजार चार सय २० खेलाडी उपस्थित भए । अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल ९आइओसी० ले पेरिसमा धेरैमा १० हजार पाँच सय खेलाडी हुने जनाएको छ । हाङझाउ एसियाडमा चीन, थाइल्यान्ड, जापान, दक्षिण कोरिया, भारत र हङकङ धेरै खेलाडी पठाउने राष्ट्रमा पर्छन् ।

याे पनि पढ्नुस  म्यान्चेस्टर सिटी इङ्गलिस लिग कप फुटबलको फाइनलमा प्रवेश
nepali sports team
Nepalis sports team

परम्परागत खेललाई प्राथमिकता
यसपटक खेलाडी तथा दर्शकले फरक–फरक खेलका अनुभव लिन पाउनेछन् । सन् २०२८ को लस एन्जलेस तथा २०३२ को अस्ट्रेलियाको ब्रिसबनमा हुने ओलम्पिकमा क्रिकेट खेल समावेश गरिएको छ । चीनले यसै एसियाडमा टी–२० फम्र्याटमा क्रिकेट खेल राखेको छ । आयोजक राष्ट्र क्रिकेटमा त्यति बलियो नभए पनि क्रिकेटको खेलको रोमाञ्चक प्राप्त गर्न सकिने जनाएको छ । एसियाका क्षेत्रीय रूपमा प्रचलित खेलहरू यसपटक देख्न पाइनेछ । चीनको बलियो मानिएको मार्सल आर्टस्का खेलहरू राखिएका छन् । यसैगरी, दक्षिण भारतको चर्चित खेल कब्बडीको छुट्टै मज्जा आउनेछ । मध्यपूर्वी एसियामा औधी मन पराइएको खेल कुराँस र कुस्तीसमेत हाङझाउमा छन् । स्वयं चीनले पनि चेसलाई थप कोटामा राखेको छ । चीनले अर्को वर्ष पेरिस ओलम्पिक खेलको मध्यनजर राखी आफूलाई ती खेलहरूमा केही इभेन्ट्स थप गरी कोटा समावेश गरेको हो ।

आर्चरी, आर्टिस स्विमिङ, बक्सिङ, ब्रेकिङ, हक्की, मोर्डन पेन्थालोन, सेलिङ, टेनिस र वार पुलजस्ता खेलका इभेन्ट्स बढेका छन् । आयोजकले थप गरेका इभेन्ट्स पेरिसमा रहन पनि, नरहन पनि सक्छन् । समग्रमा ४५ राष्ट्रका खेलाडीले विभिन्न चार सय ८१ इभेन्ट्समा आफूलाई अब्बल बनाउने प्रयास गर्नेछन् । अहिले नै एसियाडमा पुगेकाहरूले हाङझाउको तयारी ठयाक्कै सन् २००८ को बेइजिङ ओलम्पिकजस्तै भएको मानेका छन् ।

छिमेकीलाई नजिक ल्याउने अवसर
खेलकुदको राम्रो पक्ष नै राजनीतिक सम्बन्ध बिग्रिएका देशलाई एकै मञ्चमा ल्याउने हो । अबको दुई सातामा एसियाडमा यस्तै दृश्य हेर्न पाइनेछ । भारत–पाकिस्तान, उत्तर कोरिया–दक्षिण कोरिया, चीन–चाइनिज ताइपेयी, साउदी अरेबिया–कतार र इरान–इजरायलजस्ता अन्य देशहरूका खेलाडी एकै मञ्चमा प्रतिस्पर्धा गर्नेछन् । खेलकुदका माध्यमबाट ती राष्ट्रका खेलाडीले एक–आपसमा भाइचारा बढाउने प्रयास गर्नेछन् ।

याे पनि पढ्नुस  म्यान्चेस्टर सिटीलाई हराउँदै विगान एथ्लेटिक क्वाटरफाइनलमा

यसपटक उत्तर र दक्षिण कोरियाबीच खेलाडीमा हुने घमासान प्रतिस्पर्धा पनि एक हुन सक्छ । ताइवान र चीनले एक–आपसमा हेर्ने नजर अलि फरक छ । ताइवानको स्वशासित टापु चीनको हातमा हुनेछ । प्रजातन्त्रलाई एक टुक्रिएको प्रान्तका रूपमा दाबी गर्छ । चीन गणतन्त्र भनेर चिनिने, यो टापु आधिकारिक रूपमा ओलम्पिक र एसियाली खेलहरूमा चाइनिज ताइपेईको रूपमा सूचीबद्ध छ । ओलम्पिक घन्टीहरूले सजिएको सेतो झन्डामुनि मार्च गर्नेछन् । एसियाडमा रातो, निलो र सेतो झन्डालाई अनुमति छैन ।

पदकमै चीनको प्रभुत्व हुन सक्ने
पछिल्ला ४० वर्षदेखि चीनले पदकतालिकामा आफ्नो प्रभुत्व जमाइरहेको छ । कुनै समय यस्तो पनि थियो, चीन एसियाडमा चम्कनुअघिसम्म जापानलाई पदकतालिकाको शीर्ष स्थानमा छुनै धेरै परको कुरो हुन्थ्यो । जब चीनले पदकतालिकामा शीर्ष स्थानमाथि कब्जा जमायो, त्यसयता कहिल्यै पनि दोस्रो स्थानमा झर्नुपरेको छैन । यसपटक झन् घरमै आयोजना हुने प्रतियोगितामा चीनको सान थप नहुने कुरै भएन । चीनले फेरि डाइभिङमा प्रभुत्व जमाउनेछ । दुई महिनाअघि जापानको फुकुओकामा भएको विश्व च्याम्पियनसिपबाट ताजा भएका चीनका धेरै शीर्ष पौडी खेलाडी चम्किनेछन् ।

बेल्जियमको एन्टवर्पमा भएको विश्व च्याम्पियनसिप एसियाली खेलकुदसँग भिड्दा जिम्न्यास्टिकको क्षेत्र कमजोर बन्दै गएको छ । एसियाली खेलकुदमा सबैभन्दा ठूलो विजेता दक्षिण कोरियाको स्पोर्टस् स्टार ली साङ–ह्योक हुन सक्छन् । जसलाई ‘फेकर’ पनि भनिन्छ । यदि उनले स्वर्ण जिते भने उनलाई सैन्य सेवाबाट छुट दिइनेछ ।

७२ वर्षको इतिहासमा नेपाललाई दुई रजत र २३ कांस्य
एसियाडमा सहभागी राष्ट्रको इतिहास पल्टाउने हो भने नेपाल पनि पुरानैमा पर्छ । सन् १९५१ मा नयाँदिल्लीबाट सुरु भएको एसियाडदेखि निरन्तर रूपमा नेपालको उपस्थिति रहेको छ । पहिलो सहभागीमा नेपालले एथ्लेटिक्स खेलमा मात्र खेलाडी पठाएको थियो । त्यसयता नेपालले एसियाली खेलकुदको हरेक संस्करणमा सहभागिता जनाउँदै आएको छ । ३५ वर्षपछि मात्र नेपालले एसियाडमा पदकको खाता खोल्यो । नेपालले सन् १९८६ मा दक्षिण कोरियाको सोलमा आयोजित १०औँ संस्करणमा पहिलोपटक पदक जितेको थियो, त्यो पनि एउटा नभएर आठवटा पदक जितेको थियो । बक्सिङ र तेक्वान्दोका खेलाडीले नेपाललाई पदक दिलाएका थिए ।

याे पनि पढ्नुस  इस्पानियोलले रियल मड्रिडलाई हरायो, जेरार्ड मोरेनोले गरे निर्णायक गोल

तेक्वान्दोका विधान लामा, राजकुमार राई, राजकुमार वुचे र रामबहादुर घर्ती क्षेत्रीले कांस्य पदक जितेका थिए । बक्सिङतर्फ भने दलबहादुर रानामगर, तुलबहादुर थापा, मनोजबहादुर श्रेष्ठ र सुशील पोखरेलले कांस्य पदक हात पारे ।

७२ वर्ष लामो इतिहासमा नेपाल रजतभन्दा माथि उक्लन सकेको छैन । अहिलेसम्म नेपालकले दुई रजत मात्र जितेको छ । यही नै एसियाली खेलकुदको इतिहासमा नेपालको सबैभन्दा ठूलो उपलब्धिका रूपमा रहेको छ । सन् १९९८ मा थाइल्यान्डको बैंककमा सम्पन्न १३औँ एसियाली खेलकुदमा तेक्वान्दो खेलाडी सविता राजभण्डारीले पहिलोपटक नेपालका लागि रजत पदक जितेकी थिइन् । त्यसपछि सन् २०१८ मा इन्डोनेसियाको जाकार्तामा भएको १८औँ एसियाली खेलकुदमा नेपालको प्याराग्लाइडिङ टोलीले रजत पदक जितेको थियो ।

रजत पदक जित्ने नेपाली प्याराग्लाइडिङ टोलीमा विमल अधिकारी, विजय गौतम, सुशील गुरुङ, युकेश गुरुङ र विशाल थापा सहभागी थिए । समग्रमा नेपालले हालसम्म एसियाली खेलकुदमा दुई रजत र २३ कांस्य गरी २५ वटा पदक मात्र जित्न सकेको छ । नेपालले तेक्वान्दोमा एक रजत र १४ कांस्य जितेको छ । एसियाडमा नेपालबाट प्रतिनिधित्व गर्ने खेलमा तेक्वान्दो सर्वाधिक सफल खेल हो । प्याराग्लाइडिङमा एक रजत हात पारेको छ । बक्सिङमा ६ कांस्य र कराँतेका तीन खेलाडीले कांस्य जितेका छन् । खेलाडीका रूपमा तेक्वान्दोका दीपक विष्ट सर्वाधिक सफल खेलाडी हुन् । उनले सन् २००२ को बुसान र सन् २००६ को दोहा एसियाडमा लगातार कांस्य हात पारेका थिए । यसपटक नेपालले बक्सिङ, उसु, तेक्वान्दो, कराँते र इ–स्पोर्टस्मा पदकको आशा गरेको छ । नयाँपत्रिकामा श्रीलोचन राजोपाध्यायले समाचार लेखेका छन् ।

कमेन्ट गर्नुहोस्