चीन । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिबार हाङ्जाउ विमानस्थलमा ओर्लिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई चिनले विशेष महत्व दिंदै भव्य स्वागत गरेको छ ।
प्रधानमन्त्री प्रचण्डलाई चीनको खेलकुद सामान्य प्रशासन मन्त्री तथा चिनियाँ ओलम्पिक कमिटीका अध्यक्ष गाओ जिदान र चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठले हाङ्झाउ विमानस्थलमा स्वागत गरेका छन्।
हाङझावमा हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन् । त्यसभन्दा पहिले प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङबीच भेटवार्ता हुने छ।
आज मध्याह्न १२ बजे संक्षिप्त भेटपश्चात प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति चिनफिङले एउटै रिसोर्टमा लञ्च गर्नेछन्। त्यसपछि अपराह्न ४ बजे द्विपक्षीय भेटवार्ता हुने बताइएको छ।
त्यसपछि बेलुका ८ बजे हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सरिक हुनेछन्। प्रधानमन्त्री प्रचण्ड भोलि बेइजिङ जानेछन्। त्यहाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गर्ने कार्यक्रम छ।
बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्ले संयुक्त रूपमा आयोजना गर्ने नेपाल(चीन लगानी सम्मेलनलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम छ।
त्यसपछि प्रधानमन्त्री प्रचण्डले चोङकिङ नगरपालिकामा कृषी र औद्योगिक विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा स्वकीय सचिव गंगा दाहाल, परराष्ट्र मन्त्री एनपी साउद, खानेपानी मन्त्री महिन्द्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास वैरागी, योजना आयोगका उपाध्यक्ष मिन बहादुर श्रेष्ठ लगायत सरकारी अधिकारी र उद्योग वाणिज्य महासंघका पदाधिकारीहरू छन्।
नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कनेछ।
तस्बिर