हाङ्जाओ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रपति सी चिनफिङबीच चीनको हाङ्जाओमा भेटवार्ता भएको छ । चीनियाँ राष्ट्रपति सी चिनफिङ र उनकी पत्नी पेङ लियुआनसँग भेट भएको हो ।
शनिबार अमेरिकाबाट चीनकाृ हाङ्जाओ पुगेका प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति सी चिनफिङबीच एसियन गेम्सको भव्य उद्घाटन समारोहमा भेटवार्ता भएको हो ।समग्रमा दुई नेताबीचको यो भेट पाँचौ भेट हो ।
त्यहाँ प्रधानमन्त्री प्रचण्ड राष्ट्रपति सीले पाहुनाको स्वागतमा आयोजना गरेको स्वागत भोजमा सरिक भए ।
प्रधानमन्त्रीका रूपमा प्रचण्ड तेस्रोपटक चीन भ्रमणमा आएका हुन्। साथै, प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्री प्रचण्डको चिनियाँ राष्ट्रपति सीसँगको यो भेट तेस्रो हो ।
सन् २०१३ अप्रिलमा नेपालमा दोस्रो संविधानसभा निर्वाचनको तयारी र सत्ता बाहिर रहेको अवस्थामा प्रचण्डले चीनको यात्रा गरेका थिए। वर्तमान समयमा विश्वकै एक दूरदर्शी तथा शक्तिशाली नेताका रूपमा परिचित सी चिनफिङ त्यस बेला चिनियाँ कम्युनिस्ट पार्टी महासचिव र जन गणतन्त्र चीनको राष्ट्रपति बनेका थिए। उनी राष्ट्रपति भएलगत्तै तत्कालीन एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीका अध्यक्ष प्रचण्डलाई निमन्त्रणा गरेका थिए। यसरी प्रचण्डको चीन भ्रमणसँगै दुई नेताबीच पहिलो भेट भएको थियो।
चिनियाँ राष्ट्रपति सीसँग प्रचण्डको प्रधानमन्त्रीको हैसियतमा पहिलो र समग्रमा दोस्रोपटकको भेट भारतको गोवामा सम्पन्न ब्रिक्स सम्मेलनमा भएको थियो।
प्रधानमन्त्रीको रूपमा प्रचण्डको दोस्रो चीन भ्रमण सन् २०१७ मा भएको थियो। प्रधानमन्त्री प्रचण्ड चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरम फर एसिया सम्मेलनमा सहभागी हुन आएका थिए। सम्मेलन समुद्घाटन समारोहपछि उनी बेइजिङ पुगेका थिए।त्यहाँ चिनियाँ राष्ट्रपति सीसँग प्रधानमन्त्रीका रूपमा प्रचण्डले दोस्रो र समग्रमा तेस्रोपटक भेट गरेका थिए।
दुई नेताबीच यसअघिको सम्रगमा चौथो र प्रधानमन्त्रीको रुपमा तेस्रो भेट चिनियाँ राष्ट्रपतिका तर्फबाट २३ वर्षपछिको नेपाल भ्रमण क्रममा भएको थियो। सन् २०१९ अक्टुबरमा चिनियाँ राष्ट्रपति सीको नेपालको ऐतिहासिक दुईदिने राजकीय भ्रमण क्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताका रूपमा प्रचण्ड र सी बीच काठमाडौँमा भेट भएको थियो । त्यस समय प्रचण्ड नेपाल कम्युनिस्ट पार्टीका दुई अध्यक्षमध्येका एक थिए।
उक्त भेटमा चिनियाँ राष्ट्रपति सीले प्रचण्डलाई ‘तपाईँ नेपालका एक अनुभवी राजनेता हुनुहुन्छ र चिनियाँ जनताको असल मित्र र पुरानो साथी पनि हुनुहुन्छ,’ भनेका थिए।