काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज हान्जाउबाट राजधानी बेइजिङ पुगेका छन् ।
आज बिहान ९ बजे बेइजिङका लागि प्रस्थान गरेका प्रधानमन्त्री ११ बजे बेइजिङ आइपुगेका हुन् । उनलाई बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ मन्त्रीले स्वागत गरेका छन् । प्रधानमन्त्री प्रचण्डको स्वागतमा सम्मानका लागि गार्ड अफ अनर दिइएको छ । विमानस्थलबाट उनी बेइजिङस्थित स्टेट गेष्ट हाउसमा प्रस्थान गरेका छन् । उनको बसोबासको प्रबन्ध सोही स्टेट गेस्ट हाउसमा मिलाइएको छ ।
आज अपराह्न ४ बजे नेपाल चीन बिजनेस समिटमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुने छन् । बिजनेस समिटमा चीनका उच्चस्तरीय अधिकारीहरुसहित नेपालबाट गएका उद्योगी व्यवसायीहरुसमेतको टोली सहभागी हुने छ । उक्त समिटलाई प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सो समिट नेपाल उद्योग वाणिज्य महासंघ र बेइजिङको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धनका लागि चाइना काउन्सिलको संयुक्त आयोजनामा गरिदै छ ।
त्यसपछि पौने ६ बजे उनी बेइजिङस्थित नेपाली राजदूतावासमा आयोजित रात्रिभोजमा सहभागी हुने छन् । सोमबार समकक्षी ली छ्याङ तथा अन्य उच्चस्तरीय अधिकारीहरुसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।
अमेरिकाको न्युयोर्कमा आयोजित संयुक्त राष्ट्रसंघको ७८ औं महासभालाई सम्बोधन गरेपछि प्रधानमन्त्री प्रचण्ड शनिबार चीनको हान्जाउ पुगेका थिए । त्यहाँ उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेटवार्ता गर्नुका साथै १९ औं एसियन गेम्सको उदघाटन समारोहमा सहभागी भएका थिए ।