काठमाडौं । नेपाल उद्योग परिसङ्घ (सिएनआई) र चाइना काउन्सिल फर प्रमोसन अफ इन्टरनेशनल ट्रेड (सीसीपीआईटी) बीच दुई देशबीच लगानी तथा द्विपक्षीय सहकार्य प्रवर्द्धनका लागि नेपाल–चीन व्यवसाय परिषद् (नेपाल चाइना बिजनेस काउन्सिल) स्थापना गर्ने समझदारी भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणका अवसरमा सिएनआई र सीसीपीआईटीबीच आज उक्त समझदारी भएको हो । समझदारी पत्रमा सिएनआईका अध्यक्ष राजेशकुमार अग्रवाल र सीसीपीआईटीका उपाध्यक्ष चाङ साओगाङले हस्ताक्षर गरेका छन् ।
समझदारीसँगै नेपाल चाइना बिजनेस काउन्सिलमार्फत द्विपक्षीय आर्थिक सहयोग अभिवृद्धि गर्ने, व्यापार तथा लगानीका अवसरहरूको पूर्ण सम्भावनाको सदुपयोग गर्ने र नेपाल चीन दुवैका व्यावसायिक समुदायको विकासका लागि सहजीकरणमा सहजता आउने विश्वास गरिएको छ ।
काउन्सिलले दुई देशबीच व्यावसायिक गतिविधिलाई सुव्यवस्थित गर्न, अनुसन्धान र अध्ययन–सम्बन्धित पहलहरू सञ्चालन गर्न, लगानी अभिवृद्धिका लागि नेटवर्किङका अवसरहरू सिर्जना गर्न, व्यावसायिक भ्रमण आदानप्रदान गर्न, सम्मेलन तथा संवादलगायतका गतिविधि गर्नेछ ।
यी लक्ष्य प्राप्त गर्न परिसङ्घ र सीसीपीआईटीले काउन्सिलको गठनसहित सहकार्यको रोडम्याप तयार पारेका छन् । नेपाल चाइना बिजनेस काउन्सिलमा चार सदस्य रहनेछन् र प्रत्येक संस्थाबाट दुई जना प्रतिनिधि हुनेछन् ।
परिसङघका अध्यक्ष अग्रवालले यस समझदारीले नेपाल चीनबीच व्यावसायिक सम्बन्ध अभिबुद्धिसँगै चिनियाँ लगानी तथा प्रविधि भित्र्याउन नेपाल–चीन व्यावसायिक परिषद् महत्त्वपूर्ण माध्यम बन्ने बताए । उनले परिषद्ले देखिने गरी प्रभावकारी रूपमा काम गर्ने विश्वास समेत व्यक्त गरे ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले पूर्वाधारका क्षेत्र, कृषि, पर्यटन, सूचना प्रविधि, लगायतका क्षेत्रमा चिनिँया लगानी प्रोत्साहन गर्न संयुक्त लगानी सम्मेलन गर्न लागिएको जानकारी दिए ।
चिनियाँ निजी क्षेत्रसँग दुई पक्षीय आर्थिक एवं व्यापारिक सम्वन्धबारे समेत चेम्बरले उच्चस्तरीय छलफल गरेको छ । सीसीपीआईटीसँग मिलेर चेम्बरले नेपालमा आगामी बर्ष अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने अ्रध्यक्ष मल्लले बताए ।
अध्यक्ष मल्लले नेपालको जलविद्युत, कृषि , सूचना प्रविधि, पूर्वाधार विकासलगायतका क्षेत्रमा लगानी गर्न चिनियाँ निजी क्षेत्रलाई आग्रह समेत गरेका थिए ।
अध्यक्ष मल्लले भने, ‘‘चिनियाँ लगानी आउने क्रम पनि उच्च छ, खासगरी उत्पादनवृद्धि, रोजगारी सिर्जना गर्ने महत्वपुर्ण परियोजनामा लगानीका लागि आग्रह गर्दछु ।’’ सीसीपीआईटीसँग मिलेर गर्ने लगानी सम्मेलन विदेशी लगानी आकर्षित गर्न महत्वपूर्ण हुने उनको भनाइ छ ।
अध्यक्ष मल्लले चीनसँगको सीमा नाकाहरुमा पूर्वाधार विकास गरेर आयात निर्यातलाई सहजीकरण गर्नुपर्नेमा जोड समेत दिए ।
नेपाल चाइना चेम्बर अफ कमर्सका अध्यक्ष एवम् चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेशकाजी श्रेष्ठले सीसीपीआईटीसँग भएको लगानी सम्मेलनसम्बन्धी सहमति महत्वपूर्ण भएको बताए ।
नेपालमा पूर्वाधार विकास, पर्यटन, जल विद्युतलगायतका क्षेत्रमा चिनियाँ निजी क्षेत्रलाई लगानीका लागि आग्रह गरिएको श्रेष्ठले जानकारी दिनुभयो । सहमतिका क्रममा चेम्बर अध्यक्ष मल्ल सहित निर्वतमान अध्यक्ष श्रेष्ठ, उपाध्यक्षहरु दिपक मल्होत्रा, उर्मिला श्रेष्ठ र त्रिभुवनधर तुलाधरको पनि सहभागिता थियो ।