गोरखा, ७ असोज । नेकपा माओवादी केन्द्रले शुरु गरेको तीन महिने जनतासँग माओवादी विशेष रुपान्तरणको क्रममा ३ दर्जन युवायुवतिहरू माओवादी केन्द्रमा प्रवेश गरेका छन् । सहिद लखन थापा गाउँपालिका अन्तरगत वडा नं २ को चेर्पा गाउँका युवा युवतीहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।
त्यहाँमा आयोजित कार्यक्रममा उनीहरु एमाले परित्याग गरि माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवे्शी युवाहरुलाई अभियानको पालिका इन्चार्जको रुपमा रहेकी प्रतिनिधिसभा सदस्य तथा माओवादी केन्द्रकी केन्द्रीय सदस्य उर्मिला माझीले टिका लगाएर स्वागत गरिन । युवाहरुलाई स्वागत गर्दै नेतृ तथा सांसद माझीले युवाहरु राष्ट्र निर्माणको मुख्य आधार भएको र समाज परिवर्तनको मुख्य अधार समेत भएकोले युवाहरू परिवर्तनको पक्षमा लामबद्ध हुन जरुरी भएको बताइन् ।
उनले माओवादीले युवाहरुको क्षमता अभिवृद्धि गर्न, देशभित्रै रोजगारी सिर्जना गर्न र देशलाई समृद्ध पार्नको लागि पार्टी, सत्ता र सदनमा समेत युवाहरूको सहभागिताको सुनिश्चितता गरेको बताइन् । उनले माओवादी पार्टी जनताको पार्टी भएकोले जनतासँगको सम्वन्ध सुदृढ गर्न विशेष रुपान्तरण अभियान सञ्चालन गरेको बताइन् ।
उनले युवाहरुले देशभित्रै भविष्य खोज्नुपर्ने र निराश भएर विदेश पलायन हुने सोँच त्याग्नुपर्ने भनाई राखिन । सरकार र राज्यले युवाहरुलाई राज्यमै रोजगारी सिर्जना गर्न र युवाहरुलाई समृद्ध गर्न विशेष योजना ल्याइरहेको बताइन् ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले युवाहरुको पक्षमा गाउँपालिका सरकारले काम गरिरहेको बताउँदै संघ प्रदेश सरकारसँग समन्वय गरेर थप कार्यक्रमहरु गर्ने र युवाहरुको क्षमता विकासमा पालिकाले अभियानहरु सञ्चालन गर्ने बताइन्। उनले पालिका सरकारले कृषि व्यवसायलाई आधुनिकीकरण र प्रविधिमैत्रि बनाउँदै व्यवसायीकता वृद्धि गर्ने र युवाहरुलाई आत्मनिर्भर र स्वरोजगार बनाउने योजना रहेको बताइन् ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका पालिका सचिव कृष्णबाबु श्रेष्ठ, वडाध्यक्ष सकुन थापामगरले पनि नवप्रवेशी युवाहरुलाई बधाई दिँदै युवाहरुले उठाएका विषयहरु र समस्याहरु हल गर्ने प्रतिवद्धता व्यक्त गर्दै अन्य युवाहरुलाई पनि माओवादीमा आवद्ध हुन आग्रह गरे ।
स्थानिय पार्टी वडा सदस्य दिलबहादुर गुरुङको पहलमा आयोजित कार्यक्रममा स्थानिय युवाहरु हितहादुर थापा, चेत बहादुर थापा, जुना थापा, चित्र बहादुर गुरुङ, आशा गुरुङ, गोपाल गुरुङ, रुद्र बहादुर थापा, थकमाया थापा, देउ बहादुर गुरुङ, पार्वती गुरुङ लगायत चेर्पा गाउँका सबै घरका युवायुवतिहरु प्रवेश गरेका थिए ।