काठमाडौँ । नेकपा एमाले बागमती प्रदेश अधिवेशनको मतदानको समय टुंगो लाग्न सकेको छैन । निर्वाचन तालिका अनुसार बिहीबार बिहान उम्मेदवारहरूको नामावली प्रकाशित गरेर मतदान सुरु गर्ने तय भए पनि त्यो हुन नसकेको हो ।
आज बिहान प्रारम्भिक नामावली सार्वजनिक गर्ने, त्यसपछि अन्तिम नामावली प्रकाशित गरेर मतदान गर्ने पूर्वनिर्धारित तालिका अनुसार निर्वाचन कार्यक्रम अघि बढ्न सकेको छैन । यसअघि प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले बिहीबार बिहान ८ देखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिएका थिए ।
उम्मेदवारको नामावली प्रकाशनमा ढिलाइ भएसँगै अब साँझमात्रै मतदान सुरु हुनसक्ने बताइएको छ ।
बुधबार पार्टीको केन्द्रीय कार्यालय च्यासलमा उम्मेदवारहरूको मनोनयन दर्ता गरिएको थियो । अध्यक्ष पदका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । कृष्णप्रसाद दाहाल, केदारबहादुर बुढाथोकी, कैलाश प्रसाद ढुंगेल, सानु कुमार श्रेष्ठ र केशवराज पाण्डे अध्यक्षका आकाङ्क्षी देखिएका छन् । प्रदेश अधिवेशनको मतदान ४० वटा विद्युतीय मेसिनमार्फत हुनेछ ।