सुर्खेत। कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले मुलुकको विकास र समृद्धिका लागि प्रधानमन्त्रीको चीन भ्रमणमा महत्त्वपूर्ण सम्झौताहरू भएको बताएका छन् । बिहीबार पूर्वी सुर्खेतको बोटेचौरमा भेरी कोरिडोर सिँचाइ तथा नदी व्यवस्थापन आयोजना कार्यालयको उद्घाटन कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
उपप्रधानमन्त्री खड्काले नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउने तयारी गरिरहेको बताए। ‘विशेषगरी नागरिकहरूको दैनिक जीवनमा जोडिएका कुरामा सहजता निर्माण, नागरिकको पहुँच सरकार, विकासमा कसरी पुग्छ, सुशासनका सवालमा सरकार अग्रसर भइरहेको छ, उनले भने, ‘नागरिक सुशासनलाई केन्द्रमा राखेर एउटा प्याकेजमै कार्यक्रम ल्याउँदै छ ।’
उपप्रधानमन्त्री खड्काले आर्थिक प्रतिकुलताको बीचमा कोरोनाको डरलाग्दो अवस्थाले अर्थतन्त्रमा पारेको असरलाई चिर्दै सबल अर्थतन्त्र निर्माणमा लागिरहेको बताए ।
उनले अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न कार्यक्रमहरू सरकारले सञ्चालन गरिरहेको बताउँदै वर्तमान सरकारले विगतको तुलनामा नयाँ आयोजनामा पर्याप्त बजेट विनियोजन गरेको बताए । उनले कर्णाली प्रदेशको जलस्रोत, जडीबुटी, कृषिजन्य उत्पादनलाई प्रयोगमा ल्याउने सवालमा विगतमा भएको कमीकमजोरीलाई नदोहोर्याउने प्रतिबद्धतासहित यहाँका सम्भावनालाई केन्द्रसँग जोडेर लैजानेगरी अघि बढछौं, उनले भने, “चुनावको समयमा फरक दल भए पनि चुनावपछि विकास, समृद्धिका पक्षमा हामी सबै लाग्नुपर्छ । हामी सबै लागिरहेका छौँ ।”
उनले मतदाताको विकासको चाहना पूरा गर्नतिर एकताबद्ध भएर लागिरहेको बताए । यसका लागि सबै दलहरूले यहाँको स्रोत र साधनको प्रयोग गरेर, सबैभन्दा सम्मानित, सबैभन्दा बढी विकसित प्रदेश बनाउने लक्ष्य रहेको उनको भनाइ छ ।
उनले सुर्खेत हिल्सा सडक निर्माण पश्चात् सोहीअनुसार कर्णाली र भेरी कोरिडोरका सडकहरू पनि निर्माण गरिने बताए । सरकार सुशासनमैत्री शासन व्यवस्था बनाउन लागिपरेको बताउँदै केही दिनमा सुशासनसँग सम्बन्धित कार्ययोजना सार्वजनिक गरेर लागिपर्ने उल्लेख गरे ।
उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले कार्यालय स्थापना गर्न उपप्रधानमन्त्री खड्काको भूमिकाको प्रशंसा गरे। प्रदेश सरकारका ऊर्जा एवम् जलस्रोतमन्त्री उर्मिला विश्वकर्माले भेरी कोरिडोर क्षेत्रको समृद्धि र विकासमा यो आयोजनाले महत्त्वपूर्ण भूमिका खेल्ने बताए। उनले जनताका माग बमोजिम यो कार्यालय अघि बढेको खण्डमा यस क्षेत्रको आमूल परिवर्तन हुने बताए ।
यस्तै, प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री वेदराज सिंहले भेरी बबई डाइभर्सन आयोजना अन्तर्गत नै विगतमा यो कार्यालयको काम भइरहेकोमा अब अलग्गै कार्यालय खोलिनुले भेरी कोरिडोर क्षेत्रका जनतामा विकासको लहर चल्ने आशा पलाएको बताए ।
उनले कर्णाली निर्माण र समृद्धिका लागि राष्ट्रिय नेताहरूको समेत ध्यान केन्द्रित गराइएको बताए । एकताको भावनाबाट देश विकास र समृद्धि सम्भव रहेको उनले बताए ।