ल्हासा । चीनको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालको हुम्लाको बाटो भएर हिन्दूहरुको पबित्र तिर्थस्थल कैलाश पर्वत र मानसरोवर तालको सजिलै भ्रमण गर्न सकिने व्यवस्था मिलाइने बताएका छन् । आज कैलाश पर्वत र मानसरोबर ताल क्षेत्रको स्थलगत अवलोकन गरी उनले नेपाली भारतीय र अन्य देशका पर्यटकहरुले समेत हुम्लाको बाटो भएर सजिलै भ्रमण गर्न पाउने व्यवस्थाका लागि चीन सरकारसँग सैद्दान्तिक सहमति भैसकेको जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सिमकोटबाट कैलाश पर्वततर्फ ओहोर दोहोर गर्न गुणस्तरीय बाटो निर्माणको काम छिट्टै अघि बढ्ने जानकारी दिए ।
चीनको स्वशासित क्षेत्र तिब्बतको पश्चिम भाग ङारीबाट कैलाश मानसरोबर करिब २ सय ५० किलोमिटर टाढा रहको छ भने नेपालको हुम्लाबाट यात्रा गर्दा हुम्ला सदरमुकाम सिमकोटबाट १ सय ६० किलोमिटर र नेपाल चीन सीमानाबाट भने ७० किलोमिटर टाढा रहेको छ । सिमकोटबाट कैलाश मानसरोवर जान अहिले सडक संजाल जोडिएको भएपनि सडकको ट्रयाकमात्रै खोलिएकाले यात्रा गर्न असहज रहेको छ । प्रधानमन्त्री प्रचण्डले सो सडकको गुणस्तर बृद्दि गर्ने काम छिट्टै अघि बढाइने जानकारी दिए ।
कैलाश पर्वतबाट केही तल तिब्बती भागमै मानसरोबर ताल रहेको छ । मानसरोवर ताल पनि हिन्दूहरुका लागि पवित्र तिर्थस्थल हो । कैलाश पर्वतमा बस्ने महादेबले यही मानसरोबर तालमा स्नान गर्ने गर्दछन भन्ने हिन्दू धर्मावलम्बीहरुको जनविश्वास रहेको छ ।