काठमाडौं । नेपाल सरकार र आन्दोलनरत चिकित्सकबीच ६ बॅुदे सहमति भएको छ। यो सॅगै आन्दोलनको कार्यक्रम फिर्ता भएको छ।
आज सिंहदरबारमा नेपाल सरकारका उपप्रधानमन्त्री तथा गृह मन्त्रीको उपस्थितिमा नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिबीच भएको वार्तामा सो सहमती भएको हो ।
न्युयोर्क र चीन भ्रमण सकेर काठमाडौं ओर्लीएका प्रधानमन्त्री प्रचण्डले बिमानस्थलमा स्वागत गर्न गएका गृहमन्त्री नारायणकाजीलाई चिकित्सकहरूसँग वार्ता गरी आजै समहमति कायम गर्न निर्देशन दिएका थिए ।
सोही निर्देशन अनुसार गृहमन्त्री श्रेष्ठ प्रमले न्युयोर्क र चीन भ्रमणबारे जानकारी दिने पत्रकार सम्मेलनमा समेत नबसी सहमतिको आधार तय गर्न सम्बन्धित पक्षसँग गृहकार्यमा लागेका थिए । दिनभरको वार्ता पश्चात सरकार र चिकित्सकबीच सो सहमति जुटेको हो ।
यस्ता छन् सहमति
१. स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ ९पहिलो संशोधन २०७९० लाई प्रभावकारी रुपमा कार्यान्वयन गरी मणिपाल मेडिकल कलेज लगायतका स्वास्थ्य संस्थाहरुमा चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षालाई थप भरपर्दो बनाउने । त्यसका लागि स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था सुरक्षा समन्वय समितिलाई समेत क्रियाशिल बनाउने।
२. चिकित्सक तथा स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामा आक्रमण तथा कुटपिट गर्ने व्यक्तिलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन २०७९) बमोजिम कारबाही चलाउने ।
३.स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीलाई कुटपिट गर्ने घटना बढिरहेको र हालको कानुनी व्यवस्थाले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीको मनोवलमा ह्रास आएको हुँदा निजहरुको मनोबल बढाउन कुटपिट गर्ने व्यक्तिलाई तीन वर्ष भन्दा बढी सजाय हुनुपर्ने मागका सम्बन्धमा नेपाल सरकारको तर्फवाट प्रतिवद्धता व्यक्त गर्दै सो लयागतका विषयमा कानून संशोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक हप्ता भित्र प्रक्रिया अघि बढाउने ।
४.चिकित्सक, आवासीय चिकित्सक, मेडिकल अधिकृत, इन्टर्न डाक्टर तथा स्वास्थ्यकर्मीहरुको सेवा, सुविधामा न्यूनतम सरकारी सरह एकरुपता कायम गर्ने लगायत तत्काल सुधार गर्नुपर्ने विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिवज्यूको संयोजकत्वमा अर्थ मन्त्रालय, गृह मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालय, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रतिनिधि, चिकित्सा शिक्षा आयोग, नेपाल मेडिकल काउन्सिल, नेपाल चिकित्सक संघ र स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका प्रतिनिधि रहेको समिति १५ दिन भित्र गठन गरी जिम्मेबारी दिने । उक्त प्रतिवेदन अध्ययन गरी त्यसमा उल्लेख भएको मूल मर्म कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कारबाही गर्ने।
५.स्वास्थ्यकर्मीहरु माथि बारम्बार भइरहेका कुटपिट र दुर्व्यवहारका घटनाको कारक तत्व पहिचान एवं निराकरण गर्न आवश्यक पर्ने नीतिगत र कानुनी सुधारका विषयहरु समेटी प्रतिवेदन पेश गर्न दश दिन भित्र उच्च स्तरीय कार्यदल गठन गरी तीन महिना भित्र प्रतिवेदन पेश गर्ने गरी जिम्मेवारी दिने । उक्त प्रतिवेदन अध्ययन गरी त्यसमा उल्लेख भएको मूल मर्म कार्यान्वयनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आवश्यक कारवाही गर्ने।
६.स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिको तर्फबाट सञ्चालन गरेका आन्दोलनका
कार्यक्रमहरु आजैका मितिबाट अन्त्य गरी नियमित काममा फर्कने ।
सहमतिपत्रमा स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समिति का संयोजक डा. शेषराज घिमिरे र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा.दिपेन्द्र रमण सिंहले हस्ताक्षर गरेका छन् ।