अध्यक्ष प्रचण्डको ‘ब्रिफिङ’ -चीनसँगका समझदारी दूरगामी महत्वका छन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संयुक्त राष्ट्र सङ्घको ७८औँ महासभामा सहभागिता र जनवादी गणतन्त्र चीन भ्रमणका बारेमा पार्टीलाई ‘ब्रिफिङ’ गराएका छन् ।

आज बसेको पार्टी पदाधिकारी बैठकमा उनले महासभामा सहभागिताबाट विश्व समुदायले नेपाललाई नजिकबाट चिन्ने वातावरण बनेको बताए।

प्रधानमन्त्री प्रचण्डले चीनसँग भएका सम्झौता तथा समझदारी नेपालको विकासमा दूरगामी महत्वको भएको उल्लेख गरेको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “संयुक्त राष्ट्र सङ्घको महासभामा विश्वसमुदायले नेपाललाई नजिकबाट चिन्ने गरी नेपालको प्रस्तुति भएको छ”, प्रधानमन्त्री दाहालको भनाइ उदृत गर्दै उनले भने, “संयुक्त राष्ट्र सङ्घका महासचिवसँगको भेट तथा महासभाका क्रममा भएका ‘साइडलाइन’ वार्ता महत्वपूर्ण रह्यो ।”

प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय योजना आयोग र चीनको राष्ट्रिय विकास तथा सुधार आयोगबीच सहकार्य तथा अन्तरदेशीय प्रसारणलाइन निर्माण गर्ने, कृषि, विज्ञान प्रविधिलगायत क्षेत्रको विकासका लागि दुई देशबीच भएको सहमति दूरगामी महत्वका रहेको बताएको प्रवक्ता सापकाटाले जानकारी दिए ।

बैठकमा माओवादीले गत भदौ १६ गतेदेखि चलाएको रुपान्तरण अभियानका बारेमा पनि छलफल भएको थियो । बैठकले अभियानलाई प्रभावकारी बनाउने, चाडपर्वको समयमा पनि विविध कार्यक्रम गरी जनताको घरदैलोमा पुग्न नेता कार्यकर्तालाई दिशानिर्देश गरेको उनले जानकारी दिए।

प्रधानमन्त्री प्रचण्डले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत भदौ ३० गते संयुक्त राष्ट्र सङ्घको मुख्यालय न्यूयोर्क प्रस्थान गरेका थिए । उनी न्यूयोर्कबाट सिधैँ चीन भ्रमणमा गएर चीन भ्रमण सम्पन्न गरी यही असोज १३ गते स्वदेश फर्किएका हुन् ।

कमेन्ट गर्नुहोस्