ॐबारे दीनानाथ भने– हटाउने कुरा सोच्न पनि सकिँदैन

काठमाडौं । नेकपा माओवादी केन्द्रका सचिव समेत रहेका पूर्वमन्त्री दीनानाथ शर्माले ॐ शब्द शब्दकोशबाट हटाउने कुरा सोच्न पनि नसकिने बताएका छन् । सामाजिक सञ्जालमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्दै आलोचना भइरहेका बेला उनले त्यसको खण्डन गरेका हुन् ।

‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, शर्माले मंगलबार जारी गरेको विज्ञप्तिमा भनेका छन्, ‘मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन ।’

याे पनि पढ्नुस  सरकारले तत्काल सत्ता हस्तान्तरण गर्नुपर्छ : डा महत

उनले श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने भन्दै शब्दकोश र किबोर्डबाट नहटेको प्रस्ट पारेका छन् । ‘वैदिककादेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न सबैमा अनुरोध गर्दछु’, पूर्वमन्त्री शर्माको भनाइ छ । उनले संघीयता विरोधी केही अराजक, अतिवादी समूहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै संवेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधिप्रति सचेत रहन आग्रह गरेका छन् ।

कमेन्ट गर्नुहोस्