काठमाडौं । भर्ना शुल्कलाई लिएर इन्जिनियरिङ कलेजका प्राध्यापक र विद्यार्थीबीच ‘विज्ञप्ति–झगडा’ चर्किएको छ ।
प्राध्यापकबाट भन्दा आफूहरूले राम्रोसँग जिम्मेवारी पूरा गर्ने भनाइ केही दिनअघि विद्यार्थी नेताहरूबाट आएको थियो । जसको बदलामा प्राध्यापकहरूले ‘जिम्मेवारी लिनू’ भनेका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका प्राध्यापकहरूले आज विभाग चलाउने जिम्मेवारी स्वतन्त्र विद्यार्थी युनियनलाई दिने निर्णय गरेका हुन् । अप्लाइड साइन्स तथा केमिकल इन्जिनियरिङ, सिभिल, आर्किटेक्चरलगायत ६ वटा विभागीय प्रमुखहरूले संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो निर्णय गरेका हुन् ।
पुल्चोक, थापाथली, पूर्वाञ्चल क्याम्पसलगायतका कलेजका स्ववियू सभापतिहरूको असोज १२ गते विज्ञप्तिको प्रतिक्रिया स्वरुप विभागको कामकाज जिम्मा दिएका हुन् ।
ती सभापतिहरूले आफूलाई जिम्मा दिएमा गुणस्तर वृद्धिका साथ क्याम्पस चलाएर देखाउने अभिव्यक्ति दिएपछि प्राध्यापकहरूले यस्तो निर्णय आएको हो । प्राध्यापकहरूले विद्यार्थी युनियनलाई गहन जिम्मेवारी उठाउन ‘शुभकामना’ समेत दिएका छन् ।
सोमबार इन्जिनियरिङ अध्ययन संस्थानका डिन प्रा.डा.शशीधर राम जोशीको हस्ताक्षरसहित विज्ञप्ति जारी भएको छ । जसमा पुरानै शुल्क (तीन लाख १८ हजार) अनुसार भर्ना लिने र असोज २२ गतेदेखि प्रवेश परीक्षा सञ्चालन गर्ने उल्लेख गरिएको छ ।सो निर्णय विद्यार्थीहरुले अपहरण गरेर गराएको प्रध्यापकहरूको आरोप छ ।
इन्जिनियरिङ अध्ययन संस्थानमा भएको यो झगडाले प्रवेश परीक्षाको तयारी गरेर बसेका हजारौं विद्यार्थी प्रभावित भएका छन् ।