भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गरिने

चितवन । भरतपुर बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म वृक्षरोपण गर्न ३ पक्षीय सहमति भएको छ । भरतपुर महानगरपालिका, सडक डिभिजन कार्यालय भरतपुर र राष्ट्रपति चुरे संरक्षण कार्यक्रम बीच वृक्षरोपण तथा सौन्दर्यकरण गर्ने सहमति भएको हो । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल, सडक डिभिजन कार्यालय भरतपुरका प्रमुख रमेशकुमार पौडेल र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमका प्रमुख श्याम बाबु लोप्चनले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

याे पनि पढ्नुस  चितवनमा पनि सक्रिय नेकपा, माग्यो महानगर प्रमुख रेणु दाहालको राजीनामा

वृक्षरोपणका लागि सडक डिभिजन कार्यालय भरतपुरले मलिलो माटो भर्ने तथा मिडियनमा ट्राफिक नियमअनुसारको रङरोगन गर्ने सहमति पत्रमा उल्लेख छ । राष्ट्रपति चुरे संरक्षण कार्यक्रमबाट महानगरको मापदण्ड अनुसारको विरुवाहरु उपलब्ध गराउने तथा रोप्ने काम हुने छ ।

विरुवा रोपेपछि भने यसको संरक्षण तथा अनुगमनको काम महानगरपालिकाको हुने सहमति पत्रमा जनाइएको छ । महानगरपालिकाले विरुवाको लागि मिडियनको गार्डेनको दुवैतिर घेराबार तथा सिँचाईको व्यवस्था गर्नुपर्ने छ ।

याे पनि पढ्नुस  मेरो सपना भरतपुरलाई समृद्ध र आधुनिक सहर बनाउने हो : रेणु दाहाल

विशालचोकदेखि आँपटारीसम्मको १७ सय मिटरको मिडियनमा असोज २६ गते शुक्रबार वृक्षरोपण गरिने महानगरपालिकाका वातावरण निरीक्षक लक्ष्मी ठगुन्नाले जानकारी दिए ।

बाईपास सडकमा यसअघि नै ३ वटा निकायको लगानीमा केन्द्रीय बस टर्मिनल चोकदेखि विशालचोकसम्म वृक्षरोपण भईसकेको छ । सडक निर्माणमा ढिलाई भएसँगै यो क्षेत्रमा वृक्षरोपण गर्न पाइएको थिएन् । अहिले सडक निर्माण सम्पन्न भएसँगै वृक्षरोपणका लागि बाटो खुलेको हो । भरतपुर महानगरपालिकाले निर्माण सम्पन्न भएका सडकमा हरियाली प्रर्वद्धन कार्यक्रमलाई प्राथामिकतामा राखेको छ ।

कमेन्ट गर्नुहोस्