काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले इजरायलबाट नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि पहल गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको माओवादी संसदीय दलको बैठकले इजरायलमा मृत्यु भएकाहरूको शव छिटो ल्याउन र नेपाल आउन चाहनेलाई छिटो उद्धारका लागि सरकारमार्फत पहल गर्ने निर्णय गरेको हो ।

बैठकमा प्रधानमन्त्री एवं माओवादी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले इजरायल घटनामा घाइतेको उचित उपचार र मृत्यु भएकाको शवका साथ उद्धारका लागि पर्खाइमा रहेका नेपालीहरूलाई छिटो स्वदेश ल्याउन आवश्यक तयारी भइरहेको जानकारी गराएका छन् ।
त्यस्तै, संसदीय दलको बैठकले शिक्षासम्बन्धी विधेयकमा गठबन्धनबीच छलफल गरेर संशोधन प्रस्ताव दर्ता गराउने निर्णय गरिएको संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
बैठकले सरकारको निमन्त्रणामा संयुक्त राष्ट्र संघका महासचिव नेपाल आउने र आगामी २७ गते शनिबार संघीय संसद्लाई सम्बोधन गर्ने भएकाले आवश्यक तयारी गर्ने निर्णय गरेको उनले बताए ।
साथै ‘सिक्दै कमाउदै’ कार्यक्रम अन्तर्गत सुदुरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका ४९ जना विद्यार्थीहरुको टिम लिडर (जो अहिले बङ्करमा छन्) विपिन सुवेदीसँग प्रधानमन्त्री प्रचण्डले भिडियो मेसेन्जरबाट कुरा गरेका छन् उद्धारको लागि प्रयास भैरहेको समेत उनले जानकारी दिएका छन् ।
सुवेसँग पनि प्रधानमन्त्री प्रचण्डले उद्धारको प्रयासबारे जानकारी दिएका छन् ।