चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आँपटारीमा रहेको दियालो बंगला दरबारको बाँकी भू–भागलाई अन्तर्राष्ट्रिय पार्क निर्माण गरिने बताएका छन् ।
भरतपुरको बाईपास रोड अन्तर्गत विशालचोकदेखि आँपटारीसम्म आयोजना गरिएको बृहत वृक्षरोपण तथा सरसफाईमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै प्रमुख दाहालले दरबार क्षेत्रलाई आर्कषक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरे ।
‘भरतपुरलाई सुन्दर बगैँचा कार्य भइरहेको छ,उनले भने,‘हरियाली प्रर्वद्धनलाई अगाडि बढाएका छौ। स्मार्ट लाईट ३०० किमिमा हुँदा थप सुन्दर हुन्छ । पर्यटकीय गन्तव्यलाई सिंगार्ने काम पनि भईरहेको छ।’
प्रमुख दाहालले दियालो बंगला दरबारलाई म्युजियमका रुपमा विकास गर्ने र दरबारको बाँकी भू–भागमा अन्तर्राष्ट्रिय पार्क निर्माण गर्ने गरी प्रकृया अगाडि बढाइएको बताए ।
भरतपुरलाई पूर्वाधार विकास, वातावरण प्रर्वद्धन र सौन्दर्यकरण गरी सुन्दर सहर निर्माण गर्ने उदेश्यका साथ भरतपुर महानगर निरन्तर अगाडि बढेको प्रमुख दाहालको भनाई छ ।
प्रमुख दाहालले रोपिएका बोट विरुवाको संरक्षण गर्नु र नगर सफाई राख्नु नागरिकको पनि दायित्व भएको बताए।सडक डिभिजन कार्यालय भरतपुर ,राष्ट्रपति चुरे संरक्षण कार्यक्रम भरतपुर ईकाई र भरतपुर महानगरको सहकार्यमा बाईपास रोडको सो क्षेत्रमा वृक्षारोपण गरिएको हो। रोपिएका विरुवा उखेल्ने,भाँच्ने र नोक्सान गर्ने गरेका सुचना आएकोले स्वयं नागरिक सचेत नभई संरक्षण र प्रवद्र्दन गर्न नसकिने प्रमुख दाहालको भनाइ थियो ।
सन् २०२४ लाई भरतपुर भ्रमण वर्ष घोषणा गरी तयारी गरिरहेको भरतपुर महानगरले नगरभित्र वृक्षारोपण र सरसफाई अभियान नै चलाएको छ । राष्ट्रपति चुरे तराई संरक्षण समितिका चितवनका प्रमुख श्याम लोप्चनले लगाईएका विरुवा संरक्षण गर्न स्थानीयलाई आग्रह गरे। बाईपास रोडको विशालचोकदेखि बसपार्कसम्म अघिल्लो चरणमा वृक्षारोपण गरिएको छ भने अहिले विशालचोकदेखि आँपटारीसम्म वृक्षारोपण गरिएको हो। सो क्षेत्रमा वृक्षारोपण र संरक्षणका लागि सडक डिभिजन, राष्ट्रपति चुरे समिति र महानगरबीच त्रिपक्षिय सम्झौता भएको थियो।