काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनताको पक्षमा काम गरिहेको बताएका छन् ।
आइतबार चितवनको भरतपुरमा जखडीमाई सहलगानी खानेपानी आयोजना, शरदानगर खानेपानी तथा सरसफाइ आयोजना र दिव्यनगर खानेपानी आयोजनाको एक साथ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् ।
अहिलेको सरकारको कामका कारण सत्तामा कहिल्यै फर्कन पाइँदैन कि भनेर एकथरि विक्षिप्त भएको उनले बताए । कोसीमा गठबन्धनलाइ नै विभाजन गर्ने कोसिस निस्तेज पारिएको बताउँदै अब गठबन्धन पूरै कार्यकाल अघि बढ्ने उनले बताए ।
वर्तमान गठबन्धन सरकार सुशासन, सामाजिक न्याय, समृद्धि र राष्ट्रिय स्वाधिनतालाई अझै बलियो बनाउने पक्षमा लागिरहेको उनको भनाइ छ । मुलुकको राजनीतिक स्थायित्वका लागि भारत, अमेरिका र चीनसँगको सम्बन्ध बलियो बनाउन आवश्यक रहेकोमा जोड दिए ।
प्रधानमन्त्री प्रचण्डले गैरआवासीय नेपालीहरुको नागरिकताको समस्या समाधान गर्न सरकार लागिपरेको बताए । देशबाहिर रहने नेपालीको हितमा सामाजिक सुरक्षा कोष मात्रै नभएर नागरिकता र मताधिकारसम्बन्धी समस्या समाधानका लागि सरकारले पहल अगाडि बढाएको उनले जानकारी दिए ।