सरकारले सुदूरपश्चिमलाई विशेष प्राथमिकतामा राखेको छ : प्रधानमन्त्री प्रचण्ड

घोडाघोडी । प्रधानमन्त्री पुष्पकमल प्रचण्डले सुदूरपश्चिम प्रदेशलाई विशेष प्राथमिकतामा राखेर सरकारले काम गरेको बताएका छन् । सोमबार गौरीगङ्गा नगरपालिकाको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले जनताको भावनालाई सम्मान गर्दै सुदूरपश्चिममलाई विशेष प्राथमिकतामा राख्दै आएको बताए ।

उनले गेटा अस्पताललाई विश्वविद्यालय बनाउने, दोधारा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणमा सहमति, महाकालीमा पुल अनुदानमा बनाउने, राजमार्ग निर्माण लगायतका आयोजनामा सरकारले गम्भीर चासोका साथ काम गरेको बताए ।

प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकारले सुविधासम्पन्न भवन निर्माणसँगै त्यस्तै खालको सेवासुविधा जनतालाई दिनुपर्ने बताए । उनले भने “जसरी सुविधा सम्पन्न भवन बनेको छ त्यसैगरी जनताले सेवासुविधा पाउनुपर्छ ।”

यसैगरी, प्रधानमन्त्री प्रचण्डले आजै कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको प्रशासनिक भवनको शिलान्यास गर्नुभएको छ । नेपाल सरकार योजना आयोगको चालु आर्थिक वर्षमा एक करोड पचास लाख अनुदान सहयोगमा उक्त भवन निर्माण हुने भएको हो ।

भवन शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सुदूरपश्चिम प्रदेशका छ वटा क्याम्पसलाई सुदूरपश्चिम विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने प्रक्रिया अगाडि बढेको बताए । दोस्रो पटक प्रधानमन्त्री हुँदा २०७३ सालमा सुदूरपश्चिम प्रदेशका छ वटा क्याम्पसलाई आङ्गिक बनाउने निर्णय भएको बताउनुहुँदै तेस्रो पटक आफू प्रधानमन्त्री भएपछि कार्यान्वयन प्रक्रियामा रहेको बताए ।

उनले चालु आर्थिक वर्षमा छ वटा क्याम्पसका लागि नौ करोड विनियोजित रकममध्ये प्रत्येक क्याम्पसलाई डेढ करोड रकम विनियोजन गरिएको जनाउँदै दरबन्दीका विषयमा समेत आवश्यक निर्णय गरिसकेको बताए । २०७३ सालमा मन्त्रिपरिषदबाट निर्णय भएता पनि ढिलासुस्तीका कारण अन्यौलता परेको भन्नुहुँदै शीघ्र निर्णयका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

कार्यक्रममा घोडाघोडी नगरपालिकाको विकासका सन्दर्भमा नगर प्रमुख खडकबहादुर रावतले ज्ञापन पत्र बुझाए ।

विश्व सिमसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालको संरक्षण र पर्यटकीय क्षेत्रको विकासका लागि नगरपालिकाले गुरुयोजना बनाई काम थालेको आफूलाई अवगत भएको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारले त्यसका लागि आवश्यक सहयोग गर्ने बताए।

प्रधानमन्त्री प्रचण्डले बिहान लम्कीमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश कमिटीका उपाध्यक्ष कृष्णबहादुर बडूवाल (महेश)को श्रद्धाञ्जली सभालाई सम्बोधन गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले इजरायल आक्रमणमा ज्यान गुमाएका घोडाघोडी नगरपालिका–४ का नारायणप्रसाद न्यौपाने लगायत १० जना मृतकको परिवारलाई समवेदना व्यक्त गर्दै यथाशीघ्र मृतकको लास ल्याउन सरकार गम्भीर भएर लागेको बताए ।

प्रधानमन्त्री प्रचण्डले नेपाल सरकारको पहलमा पाँच जनाको शव प्राप्त भएको र बाँकी पाँच जनाको समेत प्राप्त गर्ने प्रक्रियामा लागेको बताए । उनले मृतकको खोजी कार्यलाई सरकारले तीव्रता दिएको प्रष्ट पारे ।

समाजवादी मोर्चाको धनगढी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम पुग्नुभएका प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहँदा विभिन्न कार्यक्रममा सहभागी जनाएका हुन् ।

कमेन्ट गर्नुहोस्