खाद्यबाट खसीबोका र च्यांग्रा आजदेखि बिक्री गर्दै, यस्तो छ मूल्य

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँका निम्ति खरिद गरेका केही खसीबोका आजदेखि बिक्री सुरु गर्दै छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीकी वाग्मती प्रादेशिक कार्यालयका अनुसार सोमबारसम्म खसीबोका र च्यांग्रा प्रादेशिक कार्यालय थापाथलीमा आएको र मंगलबार (आज)देखि बिक्री गरिदैं छ ।

लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ । च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ ।

कम्पनीले सो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय गरेको छ ।

कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा काठमाडौं ल्याएको हो । कम्पनीको थापाथलीस्थित वाग्मती प्रादेशिक कार्यालयबाट खसीबोका र च्यांग्रा बिक्री गरिनेछ ।

यो वर्ष दुई हजार खसीबोका र एक हजार च्यांग्रा बिक्री गर्ने कम्पनीले जनाएको छ ।

कमेन्ट गर्नुहोस्