किरण राउत सर्वोकृष्ट प्रहरी, आचार्यलाई ट्राफिक व्यवस्थापक पुरस्कार

मकवानपुर । प्रहरी दिवसको अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्य पुरस्कृत भएका छन् । प्रदेश प्रहरी कार्यालय बागमती प्रदेशले ‘उत्कृष्ट ट्राफिक व्यवस्थापन’ पुरस्कारबाट प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरेको हो ।

६८ औँ प्रहरी दिवस–२०८० को अवसरमा प्रहरी निरीक्षक आचार्यलाई बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्राफिक प्रहरी प्रमुख आचार्यलाई नगद र सम्मानपत्र सहित पुरस्कृत गरिएको हो ।

सवारी दुर्घटना न्यूनीकरण तथा समग्र ट्राफिक व्यवस्थापनको क्षेत्रमा उत्कृष्ट कार्य गरेकोले प्रहरी निरीक्षक आचार्यलाई पुरस्कृत गरिएको हो । उनले गत चैत्र ६ गते जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रूपमा जिम्मेवारी सम्हालेका थिए ।

त्यस्तै प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक किरण राउत सर्वोकृष्ट प्रहरी पुरस्कारबाट पुरस्कृत भएका छन् । बागमती प्रदेश प्रहरी कार्यालयबाट विधा तर्फ उत्कृष्ट व्यवस्थापकका रूपमा जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्र, उत्कृष्ट अनुसन्धानकर्ता इलाका प्रहरी कार्यालय सिंगटी दोलखाका प्रहरी निरीक्षक विक्रम लामा, उत्कृष्ट विपद् व्यवस्थापक बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडाका प्रहरी सहायक हवल्दार सुमन रायमाझी, उत्कृष्ट बाह्य प्रशिक्षक बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीकी प्रहरी जवान लक्ष्मी कुमारी थारू, उत्कृष्ट प्राविधिक प्रहरी जवान सविन कुमार, उत्कृष्ट प्रहरी कार्यालय सहयोगी बागमती प्रदेश प्रहरी गण हेटौँडाका प्रहरी कार्यालय सहयोगी सन्तोष राना मगर पुरस्कृत भएका छन् भने जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजाललाई प्रशंसा पत्रले सम्मानित गरिएको छ ।

कमेन्ट गर्नुहोस्