जंगी अड्डामा आज संयुक्त राष्ट्रसंघ दिवस मनाइँदै

काठमाडौं । नेपाली सेनाले आज सैनिक मुख्यालय जंगी अड्डामा शान्ति पदयात्रासहित विभिन्न कार्यक्रम गरी संयुक्त राष्ट्रसंघको स्थापना दिवस मनाउँदैछ।

राष्ट्रसंघको स्थापना सन् १९४५ अक्टोबर २४ भए पनि त्यस दिन यो वर्ष नेपालमा दसैँ पर्व परेकाले आज नै ‘युएन–डे’ विभिन्न कार्यक्रम गरी मनाउन लागिएको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए। उनका अनुसार रक्षामन्त्री, परराष्ट्रमन्त्री, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका पदाधिकारी, विभिन्न कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायत सैनिक अधिकृतको सहभागितामा ‘यूएन डे’ विशेष कार्यक्रम आयोजना हुनेछ।

अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम गर्ने, राष्ट्रहरूबीच मैत्रीपूर्ण सम्बन्ध विकास गर्ने तथा आर्थिक, सामाजिक, साँस्कृतिक वा विश्वकल्याणकारी प्रकृतिका अन्तर्राष्ट्रिय समस्या समाधान गर्ने मुख्य उद्देश्यले संयुक्त राष्ट्रसंघको स्थापना भएको हो। राष्ट्रसंघका महासभा, सुरक्षा परिषद्, अन्तर्राष्ट्रिय न्यायालय, आर्थिक तथा सामाजिक परिषद्, जिम्मा जमानी परिषद् र सचिवालय राष्ट्रसंघका अंग हुन्।

नेपाल सन् १९५५ डिसेम्वर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको थियो। नेपाल त्यस बेलादेखि नै संयुक्त राष्ट्रसंघका अधिकांश शान्ति अभियानमा सक्रिय सहभागी हुँदैआएको छ। राष्ट्रसंघको शान्ति सहायता अभियानमा नेपाली सेनाको सहभागिता छ दशकभन्दा बढीको छ। यो अवधिमा लगभग ४४ मिसनमा एक लाख ४६ हजार ६२३ नेपाली शान्ति सैनिकले भाग लिइसकेका छन्।

कमेन्ट गर्नुहोस्