काठमाडौं । नेपाल प्रहरीले ६८औं प्रहरी दिवस २०८० का अवसरमा पुनर्मिलन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यलयमा मंगलबार सम्पन्न गरेको छ ।
उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर एवम् वरिष्ठ प्रहरी अधिकृतहरू र अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरुबीच प्रहरी दिवस २०८० तथा विजया दशमी, तिहार र छठ पर्वको शुभकामाना आदान प्रदान गरिएको थियो ।
पुनर्मिलन कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अग्रज प्रहरीद्वारा आआफ्नो कार्यकालमा भएका अथक प्रयासहरूको सम्मान गर्दै उक्त प्रयासलाई आगामी पुस्ताले समेत निडरताका साथ निरन्तरता दिई अगाडि बढ्ने बताए । नेपाल प्रहरीले कार्यान्वयनमा ल्याएको नेपाल प्रहरी कार्ययोजना,२०८० लाई प्राथमिकतामा समावेश गरेको उल्लेख गर्दै त्यस विषयमा अग्रजहरूको अनुभव, सहयोग, सल्लाह र मार्गनिर्देशन प्राप्त भइरहने अपेक्षा रहेको बताए।
सो अवसरमा विविध गीत, संगीत र नाटकसहितको साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको उक्त कार्यक्रममा प्रदेश सभाका सदस्य, पूर्व सभासद एवं अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष एवम् पदाधिकारीहरू लगायतका नेपाल प्रहरीका अवकाश प्राप्त तथा बहालवाला प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।