म्याग्दी। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जलवायु परिवर्तनका कारण केही समय अघि आएको बाढिले मुस्ताङको ऐतिहासिकता, भौगोलिकता, संस्कृति र परम्परामा पुगेको क्षतिबारे सरकार संवेदनशील भएको बताएका छन् ।
जलवायु परिवर्तनका कारण मुस्ताङमा पुगेको क्षतिलाई न्युनीकरण गर्न र आगामी दिनमा कुनै घटना हुन नदिन सरकारले प्राथमिकतामा राखेर काम गर्ने उनले बताए ।
जलवायु परिवर्तन र उच्च तापमान वृद्धिका कारण देखिएका चुनौतीबारे सरकार र जनताबीच संवाद गर्न राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले प्रधानमन्त्री प्रचण्डसँग बुधवार विहान जोमसोममा आयोजना गरिएको जलवायु संवाद कार्यक्रममा प्रधानमन्त्रीले मुस्ताङको समस्या राष्ट्रिय चुनौती मात्र नभएर यो अन्तर्राष्ट्रिय चुनौती भएको बताए।
प्रधानमन्त्री प्रचण्डले भने ‘जलवायु परिवर्तनका कारण भएको क्षतिलाई कम गर्न र क्षतिलाई रोक्न सरकार गम्भीर ढङ्गले लागेको छ ।’ यहाँ कृषि, उत्पादन, पर्यटन र यहाँका अनेक व्यवसायमा जलवायु परिवर्तनबाट पुगेको क्षतिलाई रोक्न नेपाल सरकार गम्भीर तवरले लागेको प्रधानमन्त्री प्रचण्डले बताए।
उनले भने, ‘‘जलवायुसँग सम्बन्धित अन्तर्राष्ट्रिय सहयोग सरकारलाई प्राप्त हुँदैछ । नेपाल सरकारलाई प्राप्त भएको उक्त पचास करोड रुपियाँ सहयोग मुस्ताङलाई दिंदैछौं । यसबाट हजुरले बु्झ्न सक्नुहुन्छकी मुस्ताङको ऐतिहासिकता, भौगोलिकता संस्कृति, परम्परा र उत्पादनप्रति सरकार संवेदनशील छ भन्ने यो गतिलो प्रमाण हो ।’’
‘दणिक्षएशीया र खासगरी हिमालय पर्वतमाला श्रृङ्खलामा हिउ पग्लीने क्रम सुरु भएको छ जसले यहाँको जनजीवन, वातावरण र इकोसिस्टममा प्रभाव परेको छ यो निकै गम्भीर प्रकृतिको विषय हो’ प्रधानमन्त्री प्रचण्डले भने, ‘यो कुरालाई नेपाल सरकारले अन्तर्राष्ट्रिय मञ्चमा गम्भीरतापूर्वक राखेर विषय उठान गरेको छ र अन्तर्राष्ट्रिय जगतको गम्भीरतापूर्वक ध्यानाकर्षण भएको छ ।’’
जलवायु परिवर्तनले मुस्ताङलगायतका जिल्लामा पुगेको क्षति र यसको रोकथामका लागि अन्तर्राष्ट्रियस्तरमा ध्यानाकर्षण गराइएको समेत प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।