हमासद्धारा चार बन्धक रिहा

तेल अभिभ । इजरायल–हमासबीच जारी युद्धका बीच लडाकु समूह हमासले अहिलेसम्म चार बन्धकलाई रिहा गरेको छ । हमासले मंगलबार थप दुई बन्धकलाई रिहा गरेको दी टाइम्स अफ इजरायलले जनाएको छ । रिहा हुनेमा नुरिट कुपर र योचेभेद लिफ्शिट्ज छन् ।

मुक्त भएका दुई बन्धकलाई लिएर एउटा सैन्य हेलिकोप्टर तेल अभिभमा इचिलोभ अस्पतालको छतमा अवतरण गरेको थियो । अस्पतालका एक नर्सलाई उद्धृत गर्दै दी टाइम्स अफ इजरायलले गाजामा हमासको कैदबाट रिहा भएपछि सिधै मेडिकल सेन्टरमा पुर्‍याइएका दुवैको स्वास्थ्य राम्रो देखिएको जनाएको छ ।

नर्सका अनुसार दुवै बन्धकको आफ्नो परिवारसँग भावनात्मक पुनर्मिलन भएको छ । मुक्त भएका दुवै बन्धकले औषधि लिइरहेका थिए, तर उनीहरूले दुई साता कैदमा प्राप्त नगरेको हुनसक्छ ।

यसअघि, हमासको कासम ब्रिगेडले एउटा भिडियो जारी गरेको थियो । जसमा दुई बन्धकलाई अन्तर्राष्ट्रिय रेडक्रसका सदस्यलाई सुम्पँदै गरेको देखाइएको थियो ।

भिडियोमा दुई महिला नकाब लगाएका बन्दुकधारीको हात समातेर अस्थिर रूपमा हिँडिरहेको देखिन्छ । ती नकाबधारीले उनीहरूलाई नास्ता र पेयपदार्थ पनि दिइरहेका हुन्छन् । दी टाइम्स अफ इजरायलका अनुसार भिडियो फुटेजमा दुवै महिला डराएको देखिन्छ ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले वासिङ्टनले ती बन्धकको रिहाइको स्वागत गरेको र बाँकीको रिहाइका लागि काम जारी राखेको सामाजिक सञ्जाल एक्समा बताएका छन् । अझै २०० जना बन्धक रहेको बताइएको छ ।

सीएनएनका अनुसार यसअघि हमासले दुई अमेरिकी बन्धकलाई रिहा गरेको थियो । सिकागो बासिन्दा जुडिथ ताई रानन र उनकी १७ वर्षीया छोरी नताली राननलाई हमासले मुक्त गरेको बताइएको छ । रासस एएनआई

कमेन्ट गर्नुहोस्