आरके शर्मामाथि युवा संघद्धारा दुर्व्यवहार

काठमाडौं । एनआरएनए कमिटीका अध्यक्ष आरके शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार एंव हातपात गरेका छन् ।

संघको कार्यालय बालुवाटारमा भएको कार्यक्रममा सहभागी हुन पुगेका शर्मामाथि युवा संघका कार्यकर्ताले दुर्व्यवहार गरेका हुन्।

कार्यालयमा भएका आरके शर्मालाई युवा संघका कार्यकर्ताले तत्काल कार्यालय छाडेर बाहिर जान चेतावनी दिएका थिए ।त्यसलगत्तै विवाद बढाउन नखोजी शर्मा बाहिरिएको सोही क्रममा उनलाई दुर्व्यवहार गरिएको हो ।

“उहाँमाथि अपशब्द बोल्दै बाहिर जान भनिएपछि उहाँले विवाद बढाउन चाहनुभएन,” स्रोतले भन्यो, “तर उहाँ निकट ओम शर्मालाई भने कुटपिट भएको छ ।”

एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन भनी आफूले प्रश्न गरेको र आफू विदेशमा रहेर पत्रकारिता गरिरहेको ओम शर्मा बताउँछन् ।

उनी भन्छन्, “केन्द्रीय कार्यालयमा के भइरहेको छ भनेर बुझ्नका लागि जानकारी लिन आएको थिएँ । कन्फ्रेन्स हलमा आउँदा युवा संघका पूर्वअध्यक्ष महेश बस्नेत, बद्री केसीलगायतको कार्यक्रम भइरहेको थियो । एनआरएनएको कार्यालयमा युवा संघको कार्यक्रम किन ? भनेर प्रश्न गरेपछि ममाथि कुटपिट भएको हो । ममाथि कुटपिट हुन थालेपछि बद्री केसी भाग्नुभयो ।”

एनआरएनएको भर्खरै सम्पन्न भएको महाधिवेशनको विवाद अझै सकिएको छैन । महाधिवेशनमा धाँधली गरेर केसी निर्वाचित भएको भन्दै शर्माले एनआरएनएको समिति गठन गरेका छन् । उनले केसीकै नेतृत्त्वमा रहेको समितिले गरेको ईभोटिङमा धाँधली गरिएको बताउँदै आएका छन् ।

कमेन्ट गर्नुहोस्