नेपाल विश्वको मित्र हो : महासचिव गुटेरेस

काठमाडौं। संयुक्त राष्ट्रसंघका महासचिव एन्टनियो गुटेरेसले नेपाल विश्वको मित्र भएको बताएका छन् । संघीय सदनको संयुक्त बैठकलाई आज सम्बोधन गर्नुहुँदै गुटेरेसले सो कुरा बताएका हुन्।

सभामुख देवराज घिमिरेले सम्बोधनका लागि आग्रह गरेपछि महासचिव गुटेरेसले संसदलाई सम्बोधन गरे । “यो असाधारण देशको भ्रमण गर्न पाउँदा म ज्यादै खुशी छु । मैले देखेका कुराले एक सामान्य सत्यलाई पुष्टि गर्दछन् – नेपाल विश्वको मित्र हो । विश्व नेपालका लागि असल मित्र हुनुपर्छ” उनले भने ।

संयुक्त राष्ट्र संघले यसलाई वास्तविकतामा रूपान्तरण गर्नका लागि सङ्घर्ष गर्न नछाड्ने उनले प्रतिवद्धता जनाए। नेपालमा संघीय सांसदहरुसँग साक्षात्कार हुन पाउनु आफ्नो लागि सम्मानको कुरा भएको उनले चर्चा गरे । मनमोहक नेपालमा पुनः आउन पाउनु आफ्नो लागि सौभाग्य भएको उनले चर्चा गरे। आफू पहिलो पटक नेपालमा सन् १९७० को दशकमा आएको पनि उनले बताए ।

“जति पटक म यहाँ आएको छु, म छक्क परेको छुँ” महासचिव गुटेरेसले भने, “विगत केही दिनमा मैले देखेका र अनुभव गरेका कुरा मसँग सधैं रहनेछन् । हिमालयमा सूर्यको किरण, जनसमुदायको न्यानोपन र समृद्ध सांस्कृतिक विविधताको अनि पक्कै पनि लुम्बिनीको पवित्रता । म र मेरो प्रतिनिधिमण्डललाई तपाईँहरूको निमन्त्रणा, तपाईँहरूको आतिथ्यता र स्वागतका लागि म नेपाल सरकारलाई धन्यवाद दिन्छु ।”

विश्वमा हिंसा र द्वन्द्व चुलिएका बेला आफू नेपालको भूमिमा आएको चर्चा गर्दै महासचिव गुटेरेसले भने, “मध्यपूर्वको द्वन्द्व नेपालबाट हजारौं माइल टाढा हुँदा पनि इजरायलमा हमासको क्रूर आक्रमणका कारण पीडितहरूमध्ये धेरै नेपाली पनि परे । मृत्यु भएका दश नेपाली विद्यार्थीको परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु र बेपत्ता रहनुभएका विपिन जोशीको सकुशल आगमनका लागि कामना गर्दछु ।”

भूराजनीतिक तनाव बढ्दै जाँदा विश्वव्यापी विभाजनहरू गहिरो र खतरनाक हुँदै गइरहेको पनि महासचिव गुटेरेसले भने । जलवायु प्रकोप घातक शक्तिका साथ तीव्र रुपले फैलिइरहेको चर्चा गर्दै उनले भने, “सङ्कटहरूको प्रतिकार्य गर्न विश्वले नेपालबाट धेरै सिक्न सक्छ । यो देश शान्तिको प्रवद्र्धक, बहुपक्षवादको पक्षधर र दिगो विकास तथा जलवायुसम्बन्धी कार्यको कट्टर समर्थक हो ।”

दुई ठूला शक्तिका बीचमा रहेर आफ्नो सार्वभौमसत्ता र स्वाधीनताको रक्षाका लागि आफ्नो मार्ग नेपाल आफैले बनाएको उनले चर्चा गरे । विगत २० वर्षको नेपालको शान्ति प्रक्रियाको यात्रा हेर्नलायक रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्