काठमाडौं । नेपाल पत्रकार महासंघले नेपाल पत्रकार महासंघ बेल्जियम शाखाका अध्यक्ष एवं चारदिशा अनलाइनका सम्पादक ओम शर्मालाई समाचार संकलनका क्रममा गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) को केन्द्रीय कार्यालयमा सांघातिक आक्रमण गरी घाइते बनाएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
कात्तिक १४ गते मंगलबार बालुवाटारस्थित गैह्रआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को कार्यालयमा नेकपा एमालेको भातृसंस्था राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको कार्यक्रमका विषयमा समाचार बनाउने उद्देश्यले पत्रकार शर्मा पुगेका थिए । पत्रकार शर्माले समाचार बनाउने उद्देश्यले फोटो खिच्ने क्रममा उनीमाथि राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ताले सांघातिक आक्रमण गरेको र शर्माको सञ्चार सामग्रीसमेत नियन्त्रणमा लिएर नष्ट गरिदिएको महासंघ बेल्जिएम शाखाले जनाएको छ ।
एमालेका नेता महेश बस्नेत र एनआरएनएको एक पक्षका अध्यक्ष डा.बद्री के.सी. को उपस्थितिमा भएको कार्यक्रममा पत्रकार शर्मामाथि भएको आक्रमणको यो घटना अत्यन्त निन्दनीय, अशोभनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको शाखाले जनाएको छ ।
प्रेस स्वतनन्त्रतालाई कुण्ठित गराउने र लोकतन्त्रको समेत उपहास हुने गरी पत्रकारमाथि अपनाइएको यो गुण्डागर्दी र अराजक शैलीले पत्रकारको सुरक्षा थप चुनौतीपूर्ण बनेको नेपाल पत्रकार महासंघले जनाएको छ।
महासंघले भनेकोछ यो घटनाको सत्यतथ्य छानबिन गरी दोषी जोकोही भए पनि तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई संवैधानिक स्वतन्त्रता एवं भौतिक सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।
साथै, महासंघ घाइते पत्रकार शर्माको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारको सबै व्यवस्था गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदछ ।