जनयुद्ध दिवस मनाउने आफ्नै निर्णय एमालेका नेताले बिर्सिए : वर्षमान पुन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव तथा सांसद वर्षमान पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित काम टुंग्याउन सबै राजनीतिक दल मिल्नुको विकल्प नभएको बताएका छन्। बिहीबारबाट अन्त्य गर्न लागिएको प्रतिनिधि सभाको जारी अधिवेशनको अन्तिम बैठकमा बोल्दै उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउन शीर्ष तहमा सकारात्मक छलफल भइरहेको पनि बताए। नेता पुनले राज्य निरन्तरतामा चल्ने र संस्थालन निर्णयहरुलाई त्यस पछि आउने नेतृत्वले पनि अपनत्व लिनुपर्ने बताए ।

संस्थागत मेमोरी नहुँदा वा बिर्सने बानिले नेपाली राजनीतिमा समस्या आएको उनले बताए । एमाले उपाध्यक्ष विष्णु पौडेलले उठाएको प्रश्नको जवाफ दिदै नेता पुनले एमाले सरकारमा भएका बेला नै फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय भएको बताए ।

एमाले नेता विष्णु पौडेल उपप्रधानमन्त्री रहेको बेला मन्त्रिपरिषदले फागुन १ गते जनयुद्ध दिवस मनाउने निर्णय गरेको पुनले सम्झाएका हुन्। पौडेलले फागुन १ गतेदेखि मुलुकमा हिंसा सुरू ‍भएकाले यसलाई दिवसका रूपमा मनाउन नमिल्ने बिहीबारको प्रतिनिधि सभा बैठकमा तर्क गरेका थिए। पौडेलले जनयुद्ध दिवस मनाउने निर्णय गरेर गठबन्धन बनेको र नेपाली कांग्रेस पनि त्यसैमा सहभागी भएको टिप्पणी गरेका थिए। ‘हिंसा सुरू भएको दिनलाई जनयुद्ध दिवस मानेर विदा दिने निर्णय सरकारबाट भएको छ, कांग्रेस त्यसैमा सहभागी छ,’ पौडेलले भने, ‘यदि यो सरकारसँग आँट छ भने जनयुद्ध दिवस मनाउने प्रस्ताव संसदमा लिएर आओस् त्यसको निर्णय जनप्रतिनिधिले गर्छन्,हामीले गर्छौं।’ नेता पुनले संक्रमणकालीन न्यायसँग सम्बन्धित काम पीडितमैत्री बनाई टुंग्याउनुपर्ने बताए।

सबै राजनीतिक दलले सहकार्य गरेर अघि बढे पीडितलाई न्याय दिएर संक्रमणकालीन न्याय टुंग्याउन सकिने पुनको निष्कर्ष छ। यद्यपि विधेयक अहिले पनि समितिमै रहेकोले यसमा सत्ता पक्ष र सरकारले प्रयत्न गर्नुपर्ने पुनले बताए। द्वन्द्वरत पार्टीहरू सँगै बसिसकेको, सँगै चुनाव लडिसकेको, पार्टी एकता गरिसकेको अवस्थामा अब यसलाई टुंग्याउनु नै सबैको हितमा हुने पुनको जोड छ। ‘द्वन्द्वरत पार्टी सबै बसेका छौँ, सबै सँगै चुनाव लडेका छौँ। पार्टी एकता पनि गरेका छौँ। तर पीडितहरूको आज पनि प्रश्न छ। सबै सँगै बसेर एकले अर्कोलाई मान्ने तर पीडितले किन न्याय नपाउने भन्ने छ। यो सबैलाई प्रश्न हो, दल विशेषलाई मात्रै होइन,’ पुनको भनाई छ। नेता पुनले सरकारले अर्थतन्त्र चलायमान बनाउन थप पहल गर्नुपर्ने आवश्यकता रहेको पनि बताए। प्रतिनिधिसभा, सरकार, न्यायालय तथा संवैधानिक निकायहरुलाई एउटा विधिमा स्वीकार्ने भन्दा आफू हुँदा भएका सबै ठीक र आफू नहुने बित्तिकै त्यही काम शंकाको दृष्टिमा पर्ने प्रवृत्ति सच्चिनुपर्ने उनको भनाइ छ । ‘त्यही न्यायाय छ, आफ्नो जस्तो देखिने खालको न्यायधीशले फैसला गर्दा सबै स्वीकार्य हुन्छ । अलि फरक पृठभूमिजस्तो देखियो भने त्यही कुरा स्वीकार्य हुँदैन ।

उस्तै खालको कुरा किन फरक हुन्छ भन्दा हामीसँग संस्थागत संस्कारहरु बनेनन् । कसले चेयर गरिहेको छ । कसले सरकारको नेतृत्व गरेको छ, कसले निर्णय गरिरहेको छ भन्ने कुरालाई हेरेर तात्कालीक दृष्टिकोण बनाउने हाम्रा प्रवृत्तिहरु छन् । त्यसबाट पछि हटेर संस्थाहरुलाई बलियो बनाउने, संस्थाहरुलाई कामकाजी, विधिसम्मत र परिमार्जन गर्दै जाने राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ होलाजस्तो मलाई लाग्छ’, उनले भने । नेपालीहरुमा आत्मश्विासमा कमी रहेको भन्दै उनले सरकार परिवर्तनजस्ता विषयमा समेत विदेशी चलखेल देख्ने प्रवृत्ति संस्कार र संस्कृतिमै रहेको कमजोरीको द्योतक भएको चर्चा उनले गरे ।

पुनले नयाँ युवा पिँढी अगाडि आएको भन्दै त्यो पिँढीले विज्ञान, प्रविधि, तथ्य र डाटामा विश्वास गर्ने भएकाले नयाँ पुस्तालाई त्यसरी नै प्रशक्षिति गर्नुपर्नेमा जोड दिए । पुनले एमालेले माओवादी जनयुद्ध दिवसका अवसरमा १ फागुनमा सरकारले सार्वजनिक बिदा दिएका विषयमा आपत्ति जनाएकामा जवाफ दिए । पुनअघि बोलेका एमाले उपाध्यक्ष विष्णु पौडेलले सरकारले हिंसा दिवसलाई जनयुद्ध दिवस नाम दिएर उत्सव मनाएको भन्दै आपत्ति जनाएका थिए । पुनले उक्त निर्णय गर्दा मन्त्रिपरिषदमा पौडेल आफैं उपप्रधानमन्त्रीका हैसियतमा सहभागी रहेको स्मरण गराए । ‘जनयुद्ध दिवसका विषयमा यहाँ कुरा उठेको छ । म स्मरण गराउन चाहन्छु, माघ १९ गते त्यो निर्णय भएको रहेछ ।

पूर्ववक्ता माननीयज्यू उपप्रधानथमन्त्री हुनुहुँदोहरेछ । त्यही क्याबिनेटले निर्णय गरेको रहेछ’, पुनले भने, ‘म व्यक्ति केन्द्ति हुन चाहन्न । हाम्रो संस्कार कहाँबाट आउने हो । हामी आफैं निर्णय गर्ने, अर्को ठाउँमा जाँदा त्यही कुरा अर्को कसरी हुन्छ ? हामी सबैले आफ्नो संस्कार र संस्कृति सुधार गरौं । हामी सबै आफूतिर फर्किऔं ।’

 

कमेन्ट गर्नुहोस्