काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकपको एसिया छनोटको सेमिफाइनल खेलमा नेपालले शुक्रबार संयुक्त अरव इमिरेट्स (यूएई)सँग खेल्दैछ ।
यो खेलको विजेता सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–२० विश्वकपमा छनोट हुनेछ । समूहको उप विजेता बनेर सेमिफाइनलमा नेपालले यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो । दुबै देशको टोलीबीचको खेल मुलपानी क्रिकेट मैदानमा शुक्रबार बिहान ११ बजे शुरु हुनेछ । नेपाललाई १० वर्षपछि टी–२० विश्वकपमा छनोट हुने अवसर आएको छ । नेपाललाई फाइनल प्रवेशका लागि मात्र नभई यो खेल विश्वकपमा छनोट हुन समेत महत्वपूर्ण हुनेछ ।
सेमिफाइलनमा जित हासिल गरेको खण्डमा मात्र नेपाल अर्को २०२४ मा हुने टी ट्वान्टी विश्वकपमा छनोट हुनेछ । छनोट चरणको फाइनल पुग्ने दुई टिम मात्र टी ट्वान्टी विश्वकपमा छनोट हुने भएकाले शुक्रबारको खेल नेपाल र यूएई दुवैका लागि महत्वपुर्ण हुनेछ । अघिल्लो साता मात्र नेपालले युएईसँग तीन खेल खेलेको थियो। नेपाल, हङकङ र युएईबीचको टी–२० सिरिजको समूह चरणमा नेपालले युएईविरूद्धका दुई खेल जितेको थियो । नेपालले पहिलो खेलमा ७ विकेट र दोस्रो खेलमा ६ विकेटले युएईलाई पराजित गरेको थियो ।
समूह चरणको फाइनलमा भने नेपालमाथि युएईले ४ विकेटको जित निकालेको थियो । नेपालले समूह बीको विजेता यूएईलाई विश्वकपको एसिया छनोटको सेमिफाइलनको प्रतिद्धन्दीको रुपमा पाएको हो । नेपालले समूह चरणमा सिंगापुर र मलेसियालाई पराजित गरेपनि अन्तिम खेलमा ओमानसँग पराजित हुन पुगेको थियो । ओमानसँग पराजित बनेपछि नेपालले एसोसियट राष्ट्र मध्य बलियो मानिएको यूएईलाई प्रतिद्धन्दीको रुपमा पाएको हो ।