काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नियमित विधि प्रणालीहरुबाट पुनःस्थापनालाई प्रभावकारी ढंगले सम्पादन गर्न नसकिने बताएका छन् ।
आइतवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबामा बसेको विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।प्रधानमन्त्री प्रचण्डले पुनःस्थापनाका लागि आवश्यक पर्ने ऐन, कार्यविधि र संरचनाको व्यवस्था गर्नुपर्ने आवश्यकता औल्याए ।
उनले विगतका अनुभवहरुको पनि समीक्षा गरेर प्रभावकारी ढंगले पुनः स्थापनाको काम अघि बढाउनुपर्ने बताए । उनले पश्चिम नेपालमा गएको भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनःस्थापनाका लागि केही दिन अध्ययन गरी निर्णय गरिने बताए।
उनले यस पटक भुगोलको अध्ययन गरेर मात्रै बस्ती बनाउने र घर निर्माण गर्ने कुरालाई पनि एउटा निश्चित मापदण्डभित्र ल्याइने बताए।
प्रधानमन्त्री प्रचण्डले विपद्पछि मात्रै विपद्का लागि आवश्यक सामग्रीहरु खोज्ने क्रमलाई अन्त्य गर्न ७७ जिल्लामा नै विपद् आउँदा चाहिने सामग्रीहरु संकलन गर्ने संरचना बनाइने बताए ।
बैठकमा प्रधानमन्त्री प्रचण्डले विगतका अनुभवहरुको पनि समीक्षा गर्दै २०७२ सालको भूकम्प जाँदा बनाएका प्राधिकरणको कमी कमजोरीको पनि समीक्षा गरेर आगामी दिनका लागि एउटा नयाँ ऐन, विधि, संरचनासहित अझ प्रभावकारी ढंगले पुनः स्थापनाको काम अघि बढाउनुपर्ने बताए।
प्रधानमन्त्री प्रचण्डले पश्चिम नेपालमा भूकम्पको केन्द्रबिन्दुमा भन्दा अन्य स्थानमा बढी क्षति भएको बताए । उनले उद्धार, राहत र पुनः स्थापना विशेष ढंगले गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले जोखिम अझै कायम रहेकाले सबैले सजग र सतर्क रहनुपर्ने आवश्यकता रहेको पनि बताए।