काठमाडौं । जाजरकोट र रुकुममा गएको विनासकारी भूकम्पबाट क्षति भएकाको उद्धार र राहतका लागि भाटभटेनी सुपर स्टोरले एक करोड ११ लाख एक हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका भाटभटेनी सुपरस्टोरका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चेक हस्तान्तरण गरेका हुन् ।
प्रचण्डले भाटभटेनीका अध्यक्ष गुरुङले प्रदान गरेको चेक लिँदै कर्पोरेट क्षेत्रबाट पहिलोपटक यसरी सहयोग प्रदान गरेको भन्दै धन्यवाद व्यक्त गरेका थिए ।
यसअघि कोरोना कालदेखि अन्य विपदका बेला पनि भाटभटेनीका तर्फबाट सरकारले सहयोग प्राप्त गरेको प्रधानमन्त्रीको भनाई थियो ।
अहिले नेपाली जनतालाई परेको दुःखमा आफूहरुले सहयोगको हात बढाएको बताउँदै राज्यले आवश्यक ठानेमा अन्य खाद्यान्नसहितका सामग्री सहयोग गर्न तयार रहेको गुरुङले बताए ।