प्रधानमन्त्री राहत कोषमा काँग्रेस र समाजवादीद्धारा सहयोग, प्रमसमक्ष चेक हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा नेपाली काँग्रेस पार्टीले ५० लाख रुपैयाँ सहयोग गरेको छ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहितको पदाधिकारीहरूको एक प्रतिनिधि मण्डलले आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बालुवाटारमा भेटी चेक हस्तान्तरण गरेको हो । काँग्रेसले भूकम्प पछिको उद्दार, राहत, पुनस्र्थापना र पुनर्निर्माणका लागि ९ बुँदे सुझाव पेश गर्दै सरकारको ध्यानाकर्षण पनि गराइएको छ ।

काँग्रेसले भूकम्प पछिको खोज र उद्दारमा प्रधानमन्त्रीको तदारुकता र तत्परताको प्रशंसा पनि गरेको छ । सुझावमा राहत र पुनर्निर्माणका लागि अनुभवी कर्मचारी परिचालन, अस्थायी आवासको व्यवस्था, उद्दार र पुनस्र्थापनामा एकद्वार प्रणाली अनुसरण गर्दा प्रदेश सरकार र स्थानीय सरकारलाई नै नेतृत्वदायी भूमिका दिई संघीय सरकारको अनुगमन र सहजिकरण गर्नुपर्ने रहेको छ ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतका राम्रा अनुभवहरुको अनुसरण गर्ने बताए । उनले खोज र उद्दारको पहिलो चरणको कार्य सफलतापूर्वक सम्पन्न भएको बताउँदै अब राहत र पुनर्निर्माणको दोस्रो चरणको कार्यमा द्रुतगतिमा लाग्नुपर्ने बताए । उनले भने ‘हिजो मात्र दुबै छिमेकी राष्ट्रका राजदूतहरुलाई छुट्टाछुट्टै बोलाएर राहतका लागि कुरा भएको छ । उनीहरूले राहतका लागि आफूहरु सुरुवात गरेको बताए ।

यसरी सबैतिरबाट आर्थिक र अन्य सहयोगहरु आउने क्रम जारी छ ।’ प्रधानमन्त्रीले आगामी दिनमा भूकम्प लगायतका अन्य प्राकृतिक प्रकोपका लागि स्थानीय तहमा स्टोरको व्यवस्था गर्ने, भूगोलको अध्ययन गरेर एकीकृत बस्तीको मापदण्ड तोक्ने लगायतका कार्यका बारेमा छलफल भएको बताए । उनले नेपालीहरूमा संकटको बेला एकैठाउँमा उभिने संस्कार विगतका प्राकृतिक विपदामा झैं यसपटक पनि सबै एकजुट भएको बताए।

चेक हस्तान्तरण गर्दै नेकपा एकीकृत समाजवादी
चेक हस्तान्तरण गर्दै नेकपा एकीकृत समाजवादी

त्यसैगरी नेकपा एकीकृत समाजवादीले पनि २५ लाख रुपैयाँ सहयोग गरेको छ । पार्टीका अध्यक्ष माधव कुमार नेपाल लगायतका नेताहरू सहितको प्रतिनिधि मण्डलले प्रधानमन्त्रीलाई बालुवाटारमा भेट गरी २५ लाखको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषको लागि हस्तान्तर गरेको थिए ।

कमेन्ट गर्नुहोस्