काठमाडौं । मधेश प्रदेश सरकारले प्रदेश प्रहरी समायोजन लगायतका ६ बुँदे माग राखि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ ।
बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा पुगेर मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहितको टोलीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
संघीयता भएको ८ वर्ष भइसक्दासमेत प्रदेश सरकारले पाउने संवैधानिक अधिकार नपाएकाले यो ध्यानाकर्षण गराएको मुख्यमन्त्री यादवले बताए । उनले ३० दिनभित्र प्रदेशका माग सम्बोधन गर्नुपर्ने बताएका छन् ।
प्रदेश प्रहरी समायोजन सम्बन्ध, संघीय निजामति सेवा ऐनको सम्बन्धमा, सार्वजनिक जग्गाको प्रयोगको सम्बन्धमा, गुठी जग्गाको सम्बन्धमा, अर्थ सम्बन्धी समस्या सम्बन्धमा र अभियोजन सम्बन्धमा आधारित भइ ज्ञापन बुझाएको उनको भनाइ छ । ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मागहरू जायज भएको र ३० दिनभित्र सम्बोधन गर्ने प्रतिवद्धता जनाउनुभएको मुख्यमन्त्री यादवले बताए ।
मुख्यमन्त्री यादवले प्रदेश अधिकारका लागि सबै प्रदेशका मुख्यमन्त्रीहरुलाई मिलेर अघि बढ्न आह्वान समेत गरेका छन् ।